Home » » दार्चुलामा आएको बाढीले मलेसियामा छोयो

दार्चुलामा आएको बाढीले मलेसियामा छोयो


काठमाण्डौ, असार ९ ।
मलेसिया – साउदी अरबबाट भाइको फोन आयो । आत्तिदै सोध्यो ‘दाजु घरमा फोन गर्नुभयो ?’ ‘किन र के भयो’ मैलै जवाफ फर्काएँ । ‘
भर्खरै घरमा फोन गरेको’ स्वाँ स्वाँ हुँदै उसले भन्यो ‘हाम्रो त खेत सबै महाकालीले लग्यो रे, बाढी आँगनमा आइपुगेको छ रे ।’ भाइले कुरा नसकिँदै मेरो अनुहार रातोपिरो भयो । मैले पनि तुरुन्तै घरमा फोन गरेँ, जे हुनु भइसकेको थियो । दार्चुला खलङ्गा २ गल्फैका भुपेन्द्र टमाटा आफ्नो गाउँमा बाढीले क्षति पुर्‍याएको खबरले निकै चिन्तित हुनुहुन्छ । ‘के गर्ने घर फर्केर यसो कुटो कोदालो गरेर खाने खेत पनि महाकालीले खाइदिहाल्यो ।’ उहाँको साढे ५ बिगाहा जमिन र गाईबस्तु बाँध्ने गोठ समेत महाकाली नदीको बाढीले बगाएको छ । खेतबारी र गोठ बगाएको चिन्ताले रोजगारीका क्रममा १२ वर्षदेखि मलेसियामा रहेका भुपेन्द्रले राम्रोसँग काम गर्न सक्नुभएको छैन भने खाना पनि रुचेको छैन । ‘आफ्नो मात्र होइन पुरै गाउँ नै बगाएको छ ।
मैले त कहिल्यै सोचेकै थिइन की यतिसम्मको प्रलय हुन्छ भनेर । सपनामा पनि नसोचेको कुरा आज आफैलाइ पर्‍यो’ गहभरी आशु पार्दै उहाँ भन्नुहुन्छ ‘अहिले त
फोन पनि लाग्दैन ।’ अहिले भुपेन्द्रको तन विदेशमा भएपनि मन गाउँमै पुगेको छ । ‘झन् इन्टरनेटमा भिडियो हेरेपछि त झन् त्यही दृष्यमात्र आइरहन्छ, धन्न मानवीय क्षति भएनछ ।’
कञ्चनपुर चाँदनी गाविसका करण चन्द पनि आफ्नो गाउँमा बाढी आएको खबरले चिन्तित हुनुहुन्छ । दार्चुलामा जति ठूलो क्षति नभएपनि परदेशमा रहेका उहाँको मन शान्त हुन सकेको छैन । ‘घर बनाउन ल्याएको बालुवा र इँटा अनि गाईवस्तु बाँध्ने गोठ महाकालीले बगाइदिएछ’ करणले भन्नुभयो ‘हाम्रो धेरै क्षति नभएपनि भाउजुको माइती उठीबास पारेछ ।’ कञ्चनपुर महेन्द्रनगरका केशबचन्द ठकुरी लगातार तीनदिनसम्म घरमा फोन सम्पर्क नहुँदा निकै आत्तिनुभएको थियो । ‘कञ्चनपुरमा बाढी आएको खबर फेसबुकमा देखेर मन थाम्नै सकिन अनि घरमा फोन गरेको पटक्कै सम्पर्क भएन’ बाढीको खबरले आत्तिएकोबारे सुनाउँदै उहाँले भन्नुभयो ‘अनेक कुराहरु दिमागमा घुम्न थल्यो ।
बल्लबल्ल हिजो फोन लाग्यो र केही भएको रहेनछ, मन हल्का भयो ।’ यी त प्रतिनिधि पात्र मात्र हुन् । नेपालका बिभिन्न जिल्लामा बाढी पहिरोले क्षति पुर्‍याएको खबरले परदेशमा रहेका नेपालीहरु निकै चिन्तित छन् । इन्टरनेट र सामाजिक सञ्जालमा नेपालबारे खबर हेरिरहने उनीहरु विपद्का घटना थाहा पाउँदा गाउँ सम्झिएर आत्तिन्छन् ।
सम्पर्कमा भएका आफन्त र साथीभाईलाई फोन गरेर जतिसक्दो धेरै कुरा थाहा पाउन खोज्छन् । सुदूरपश्चिममा बाढी पहिरोले क्षति पुर्‍याएको खबरले मलेशियामा रहेका सुदूरपश्चिमवासी निकै आत्तिएका सुदूरपश्चिम विकास मञ्चका अध्यक्ष दानबहादुर शाहीले बताउनुभयो ।
‘यो घटनाले दर्जनौ नेपालीलाइ घरबारबिहीन बनाएको छ, ती पीडित परिवारलाई परदेशमा राहत उठाएर पठाउने तयारी गरिरहेका छौं । भूमिराज पराजुली/उज्यालो

0 comments:

Post a Comment

Find Us On Facebook