Home » » महँगो मोबाइललाई सस्तो बनाउने तरिका

महँगो मोबाइललाई सस्तो बनाउने तरिका


९ असार, काठमाडौं । बजारमा महँगोमा किनेको मोबाइल सेटलाई सामान्य जुक्ति लगाएर घरमा ल्याएर मूल्य घटाउन सकिन्छ । यो सुविधा सबै मोबाइल प्रयोगकर्ताले प्राप्त गर्न सक्छन् । १०/१२ हजार रुपैयाँमा किनेका सेटको मूल्य घरमा ल्याएर ५ हजारमा झार्न सकिन्छ ।
सामान्य विद्यार्थी र पेशाकर्मीले तीन हजार रुपैयाँको इन्टरनेट डाटा कार्ड र तीन हजारको भ्वाइस रेकर्डर साथमा राखेका हुन्छन् । त्यसबाहेक साइन्टिफिक क्यालकुलेटर, क्यालेन्डर, अंग्रेजी ग्रामर, डिक्स्नरी, हेल्थ टिप्स बुक, दिशा पत्ता लगाउने कम्पासलगायत घरायसी, अध्ययन र कार्यालयको कामको सिलसिलामा नियमित प्रयोग हुने समानको लागि हजार रुपैयाँभन्दा बढी खर्च गरेको पाइन्छ ।
सबैभन्दा सस्तो स्मार्टफोन किनेर जोकसैले यी सबै सुविधा सोही सेटबाट प्राप्त गर्न सक्छ । अहिले नेपाली बजारमा सामसुङको ११ रुपैयाँदेखि माथि र भारतीय तथा चिनियाँ कम्पनीका ७ हजार रुपैयाँभन्दा माथिको मूल्यमा स्मार्टफोन सेट उपलब्ध छन् । तर, जानकारीको अभावमा धेरै मोबाइल प्रयोगकर्ताले इन्टरनेटको डाटा कार्ड सँगै बोकेर हिँडेका हुन्छन् ।
मोबाइल सेटले स्वतः डाटा कार्डको काम गर्दछ । सेटमा सिमबाट चल्ने इन्टरनेटलाई तार वा ताररहित माध्यमबाट कम्युटरमा सेयर गर्न सकिन्छ । मोबाइल सेटमा वायरलेस अप्सनभित्र रहेको ‘टेथरिङ’ मा क्लिक गरी डाटा केबुलबाट कम्प्युटरमा इन्टरनेट सार्न सकिन्छ । यस्तै, ‘हट स्पट’ मा क्लिक गरी मोबाइल सेटको इन्टरनेट वाईफाई प्रविधिबाट ल्यापटप र अन्य मोबाइल सेटमा सेयर गर्न सकिन्छ । स्मार्टफोनमा थ्रीजी सपोर्ट गर्ने हुँदा पहिले सिमकार्डलाई थ्रीजी बनाउनुपर्छ ।
पात्रो, डिक्स्नरी, क्यालकुलेटर, कम्पासजस्ता जनउपयोगी चिज फोन सेट निर्माता कम्पनीले किनेर प्रयोगकर्ताका लागि सित्तैमा बाँडेका हुन्छन् । मोबाइल सेटको मूल्य तिर्दा नै ती सुविधाको मूल्य समावेश गरिएको हुन्छ । एन्ड्रोइड स्मार्टफोनहरुमा गुगल प्ले र आइफोनमा एप्स स्टोर भन्ने आइकनमा गएर त्यस्ता एप्लिकेसन डाउनलोड गर्न सकिन्छ । त्यहाँ केही शुल्क तिर्नुपर्ने र धेरै निःशुल्क एप्लिकेसन राखिएका हुन्छन् । एप्लिकेसनको नाम ठ्याक्कै याद नभएमा गुगलमा चाहिएको चिज सर्च गर्न मिल्दोजुल्दो शब्द टाइप गरेजस्तै गर्न सकिन्छ ।
स्मार्टफोन इन्टरनेट चलाउन र दैनिक उपयोगी जानकारी हातैमा लिनको लागि बनाइएका हुन् । यसका लागि अन्य उपकरण र पुस्तकको प्रयोग गर्नु अनावश्यक खर्च बढाउनु हो । यसबाहेक प्रायः ४ हजार ५ सय रुपैयाँभन्दा माथिका फोन सेटलाई पनि इन्टरनेट डाटा कार्डको रुपमा प्रयोग गर्न सकिन्छ । केबुललेे फोन सेटलाई कम्प्युटरमा जोडेर डायल अप प्रविधिबाट टेलिकम वा एनसेलको इन्टरनेट कनेन्ट गर्न सकिन्छ । यसका लागि अन्य केही उपकरण चाहिँदैन, सम्बन्धित फोन सेटको वेभसाइटबाट सानो एप्लिकेसन डाउनलोड गरेर कम्प्युटरमा राख्नुपर्छ । वाईफाई चल्ने गैरस्मार्टफोन सेटमा getjar.com बाट चाहिएको अप्लिकेसन डाउनलोड गर्न सकिन्छ ।

0 comments:

Post a Comment

Find Us On Facebook