|
कृष्ण भट्टराई/अश्विनी कोइराला
रमित ढुंगानाका बुवा जुवाका सौखिन थिए। सोल्टीमा उनीसँग कौडा खेल्न जो कोही पनि हच्कन्थे। त्यही समयमा भारतका चर्चित नायक देव आनन्द चलचित्र 'हरे राम हरे कृष्ण' सुटिङका लागि नेपाल आए। सुटिङका लागि एक जना जुवा खेलाडीको आवश्यकता भयो, सबैले कृष्णप्रसाद ढुंगानाको नाम सिफारिस गरे। भारतमा मात्र होइन, उक्त चलचित्र नेपालमा पनि हिट भयो। त्यो हिटको लिस्टमा रमितका बुवा कृष्णप्रसाद ढुंगाना पनि थिए। यसरी रमितको घरमा धेरै अघि प्रवेश भएको चलचित्रको नशामा कृष्णका दुई छोरा अमित र रमित पनि सामेल भए। अमितले ज्वाला, मायाको जालजस्ता चलचित्रमा नायकको भूमिका निर्वाह गरे भने भाइ रमित चलचित्र उद्योगमा रामै्रसँग स्थापित भए। 'माया नमार' हिट भएपछि लगातार चलचित्र क्षेत्रमा सक्रिय रमितले सय जति चलचित्रमा नायकको भूमिका निर्वाह गरिसकेका छन्।
तपाईंको बुवाले हिन्दी चलचित्र 'हरे राम हरे कृष्ण’ मा जुवाडेको भूमिका निर्वाह गर्नुभएको थियो, यसको अर्थ उहाँ चर्चित जुवाडे हुनुहुन्थ्यो, हो ?
उहाँको सम्पत्ति प्रशस्त थियो, त्यतिबेला आफ्नो सम्पन्नता देखाउने एउटा माध्यम थियो जुवा। उहाँ सौखिन खेलाडी हुनुहुन्थ्यो।
जुवाका खेलाडी अलि रसिक हुन्छन् भन्ने मान्यता छ, महिलाका सन्दर्भमा उहाँ कस्तो हुनुहन्थ्यो ?
उहाँले चार जनासँग त विवाह नै गर्नुभएको थियो। अरू रमाइलो कति गर्नुभयो होला, तपाईं आफैं कल्पना गर्नुस्। कहिलेकाहीँ सहरमा आफूजस्तै जिउडालका मानिस देख्छु र झुक्किन्छु, कतै बुवा यताउता पनि जानुहुन्थ्यो कि भन्ने सोच्छु र एक्लै हाँस्छु। सम्पत्ति धेरै भएकाले त्यसलाई सम्हाल्न धेरै सन्तान चाहिन्छन् भनेर बुवाले धेरैवटीसँग विवाह गर्नुभएको हो भन्ने सुनिएको हो। खास कुरा त बुवालाई नै थाहा होला।
तपाईंसहित बुवाका सन्तान कति छन्, गन्नुभएको छ ?
वैधानिक २२ जना। १२ जना दाजुभाइ, १० दिदी-बहिनी।
तपाईं कुन नम्बरमा पर्नुहुन्छ ?
अहिलेसम्मको गणनामा म नै कान्छो हुँ। मभन्दा कान्छो मैले भेटेको छैन।
बुवाको बिन्दास जीवनको प्रभाव तपाईंमा कत्तिको परेको छ ?
अलि-अलि त परिहाल्छ नि। सम्पन्न परिवारको कान्छो छोरो भएकाले सानैदेखि खर्च गर्ने बानी भयो। महिलाका मामिलामा भने अहिलेसम्म बुवाको पदचाप पच्छ्याउन सकिएन।
किन होला ?
मेरो १६ वर्षको उमेरमा विवाह भयो। उनैसँग प्रेम भयो। अहिले ३२ वर्षको भएँ, तर उनीबाहेक अन्त मन जान सकेको छैन। भगवान्सँग प्रार्थना छ, मन अरूतिर नजाओस् पनि।
मनलाई जबरजस्ती रोक्नुहुन्छ कि...?
होइन, उनको प्रेमले रोकेको हो। सय जति चलचित्रमा अभिनय गर्ने क्रममा मेरो नाममा रगतले चिठ्ठी लेख्नेहरू पनि थिए, आत्महत्या गर्छु भन्नेहरू पनि थिए। श्रीमतीकै हातमा मेरो नाममा पत्र लेखेर बुके दिनेहरू पनि थिए। कस्तोसम्म थियो भने घर फकर्ंदा मैले मोबाइल अफ गर्नुपथ्र्याे। ती कसैले मन तान्न सकेनन्। उनीहरू नराम्रा भएर होइन, श्रीमतीको व्यवहार असल भएर हो।
१६ वर्षको उमेरमै केटी ताक्नुभयो, विवाह गर्नुभयो, मन त अलि चञ्चल नै हो नि, होइन र ?
त्यस्तो होइन। आमालाई मुटुको समस्या थियो। दाजुहरूको विवाह भैसकेको थियो। आमा कान्छोको विवाह गर्न नपाई मर्छु होला भनेर चिन्ता गर्न थाल्नुभएको थियो। आमाको मन राख्न दाजुहरूले पनि सहमति जनाउनु भएछ। मलाई त थाहै थिएन।
विवाह गर्ने बेलामा केटी हेर्नुभएन ?
भद्रकालीमा केटी हेर्ने कार्यक्रम रहेछ। गाडीमा दाजु म र ममी गएका थियौं। मिठाई पसलमा पुगेपछि आमा र दाजुले केटी कस्ती लागी भनेर सोध्नुभयो। मैले छक्क पर्दै सोधें- कुन केटी ? उहाँहरूले कालो कुर्ता लगाएकी केटी तेरा लागि हेरिदिएका हौं, कस्तो लाटो.. भनेर जिस्काएपछि पो झल्यास्स भएँ। मैले उनलाई देख्दै देखिन।
त्यति मै विवाह गर्ने सहमति दिनुभयो?
मैले फेरि केटी हेर्न कर गरें। उनी १४ वर्षकी थिइन्, ८ मा पढ्थिन्। मलाई मोटरसाइकल दिएर केटीको विद्यालय पठाइयो। त्यहाँबाट उनलाई विभिन्न स्थानमा घुमाएँ। सूर्य विनायक मन्दिरको दर्शन गराएँ, तर न त राम्रोसँग अनुहार हेर्न सकें, न त केही बोल्न नै सकें। उनको घरमा छाडेपछि बल्ल एउटा शब्द बोल्न सकें- बाई। त्यति हो मेरो विवाहअघिको प्रेम र संवाद।
आज फर्केर हेर्दा कस्तो लाग्छ ?
रमाइलो लाग्छ। विवाहपछि पनि हामी एक-अर्कालाई राम्रोसँग हेर्न सक्दैनथ्यौं। एकछिनमा झगडा गथ्र्यौं, एकछिनमा लुकीलुकी माया गथ्र्यौं। घरभित्र आफ्नै श्रीमतीलाई चोरी-चोरी माया गर्नुको मज्जा नै अर्कै हुँदो रहेछ। कतिसम्म भने ३ महिनासम्म हामीले एक-अर्कालाई राम्रोसँग छुन पनि सकेनौं।
विवाह भएको १७ वर्ष भएछ। भर्खरै जवान हुनुभएको छ, चाँडै विवाह गरें भन्ने लाग्दैन ?
कहिलेकाहीँ हामीबीच झगडा पथ्र्यो। त्यो बेला आमासँग मेरो किन चाँडै विवाह गरिदिनुभयो भनेर बिच्किन्थें। अहिले उहाँलाई धन्यवाद दिन्छु, किनभने उहाँले नभएको रोग देखाएर मेरो चाँडै विवाह गरिदिनुभएको थियो। अहिले छोरी १४ वर्षकी भइन्, छोरो १२ वर्षको छ। सबै दायित्व चाँडै सकिएपछि फ्रि हुन पाइयो ।
सम्पन्न व्यक्तिको छोरो हुँदा मनमा के आउँदो रहेछ ?
पैसा छ, तर काम छैन। के गर्ने-के गर्ने हुँदो रहेछ।
त्यही भएर चलचित्र क्षेत्रमा आउनुभएको हो ?
त्यसै भन्नुपर्यो। हामीले एयरपोर्ट पछाडिको ५ रोपनी जग्गा ५० लाखमा बेचेर 'माया नमार' भन्ने चलचित्र बनाएका थियौं। त्यो हिट भयो। त्यसले मलाई स्थापित गरायो।
आज त्यो जग्गाको दाम ५ करोड पुगिसक्यो, चिन्ता लाग्दैन ?
मलाई त्यही जग्गाले स्थापित गरायो, त्यसकारण चिन्ता छैन। अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउँदा हाम्रो ९६ रोपनी जग्गा सरकारले अधिग्रहण गर्यो। आज त्यहाँ प्लेन कुद्छन् भनेर दुःखी हुनु राम्रो होइन।
धेरै व्यक्तिहरू तपाईंजस्तै जग्गा बेच्दै चलचित्र बनाउँदै हिरो हुन्छन्, त्यसो गर्नु राम्रो हो र ?
हामीले पहिलो चलचित्र जग्गा बेचेर बनाएका हौं। त्यो हिट भयो। त्यसपछि मलाई चलचित्रको अफर आउन थाल्यो। त्यसपछि जग्गा बेचेर चलचित्र बनाउनु परेको छैन। दाजु अमितचाहिँ जग्गा र औषधिको व्यवसाय गर्नुहुन्छ। त्यसैमा व्यस्त हुनुहुन्छ। म चाहिँ फूल टाइम कलाकार नै छु, आजका दिनसम्म।
दुई वर्षयता तपाईंका कुनै चलचित्र आएका छैनन्, कता हराउनुभयो ?
केही वर्षदेखि अमेरिकामा बेरोजगार भएर घुमिरहेको छु। श्रीमती र सन्तान उतै छन्, उनीहरूको सम्झन-नियास्रो लाग्छ र उतै पुगिरहन्छु।
अमेरिकामा काम नगरी किन त्यसै बस्नुभएको ? खर्च कसरी धान्नुहुन्छ ?
नेपालको सम्पत्तिको के काम ? चार-पाँच महिनामा नेपाल आउँछु, केही नेपाली चलचित्र र विदेश लान मिल्नेजति पैसा लान्छु र त्यसैबाट गुजारा चलाउँछु। अमेरिकामा स्वास्थ्य र शिक्षामा खर्च गर्नुपर्दैन। श्रीमतीले आफ्ना लागि आफै कमाउँछिन्। म एक्लोलाई घुमेरै पुगेको छ।
हामीले सुनेअनुसार तपाईं अमेरिका बसेर विशेष किसिमको चलचित्र बनाउँदै हुनुहुन्छ रे, त्यो विशेष किसिमको चलचित्र भनेको कस्तो हो ?
त्यो 'बुद्ध वर्न इन नेपाल' भन्ने चलचित्र हो। यो अंग्रेजी र नेपाली भाषामा बन्दैछ। वास्तवमा म २ वर्षदेखि अमेरिकामा यही काममा लागि अनुसन्धान गरिरहेको छु।
कति खर्च गर्दै हुनुहुन्छ ?
सबै खर्च जोड्ने हो भने ३ लाख डलर पुग्छ अर्थात् अढाइ करोडभन्दा बढि ।
यति धेरै खर्च किन गर्नुभएको, पैसा धेरै भएर हो ?
मेरो जीव्ान मस्तीमै बित्यो। म जीवनमा कहिलै सिरियस भइन। कहिल्यै समस्या नपरेकाले त्यस्तो अवस्था नै आएन। पहिलोपल्ट अमेरिका जाँदा जुन घटना घट्यो, त्यसले मेरो सबै मस्ती खोस्यो। त्यसपछि मैले जीवनमा केही गरिन, एउटा गतिलो काम गर्छु भन्ने निर्णय गरें।
त्यो कुन घटना थियो ?
म एउटा अंग्रेजी चलचित्रमा अभिनय गर्न अमेरिका गएको थिएँ। त्यो सानो बजेटको चलचित्र थियो। त्यो युनिटमा कसैले पनि नेपाल भन्ने देशको नाम सुनेका रहेनछन्। सबैले नेपालका बारेमा जान्न चाहे। मैले बुद्ध जन्मिएको देश नै नेपाल हो भने। उनीहरूले बुद्ध त भारतमा जन्मिएका हुन् भनेर जिद्धि गरे। मैले कति प्रयास गर्दा पनि उनीहरू सहमत भएनन्। त्यसपछि माउन्ट एभरेस्टको देश नेपाल हो भनेर चिनाउने प्रयास गरें। उनीहरू माउन्ड एभरेस्ट तिब्बतमा पर्छ भन्न थालें। भारत र चीन अनि तिब्बतका बीच नेपाल त सधैं हराउँदो रहेछ।
त्यसपछि ?
मैले यस विषयमा विभिन्न विद्यालय, कलेज तथा ठूला युनिभर्सिटीका लाइब्रेरीमा गएर पुस्तकहरू हेर्न थालें, सबैमा बुद्ध भारतमा जन्मिएका हुन् भनेर लेखिएको थियो। त्यसपछि त्यहाँका विद्वानहरूलाई भेटें, उनीहरूले मिश्रति प्रतिक्रिया दिए। त्यो बेला मैले सोचें, मसँग पैसा छ, अभिनयको कला छ। त्यसै अर्थहिन चलचित्र खेल्नु र बाँकी समय अल्लारे भएर हिँड्नुभन्दा देशका लागि केही गर्नु उपयुक्त हुन्छ। त्यसपछि हलिउडमा 'सागरिका फिल्म प्रोडक्सन हाउस' खोलें। तीन वर्षदेखि त्यसको कर तिरिरहेको छु। यसपटक चौथो वर्षमा चलचित्र निर्माणको काम सुरु गरेको छु।
यसको विषय के हो ?
जे मैले भोगें, त्यही नै विषय वस्तु हो। एउटा युवक अमेरिका पढ्न जान्छ। उसले बुद्ध नेपालमा जन्मिएका हुन् भनेर विद्रोह सुरु गर्छ। कलेजमा उत्पात मच्चाएपछि कलेजले निकालिदिन्छ। ऊ नेपाली समुदायलाई एकजुट गर्न थाल्छ। अध्ययन-अनुसन्धानका लागि दबाब दिन्छ। नेपाल सरकारमा डेलिगेसन पठाउँछ। अन्त्यमा अमेरिकी सरकारको अनुसन्धान निकायले बुद्ध नेपालमै जन्मिएका हुन् भनेर प्रमाणित गरिदिन्छ।
त्यो त चलचित्र भयो, यसले सत्यलाई कसरी स्थापित गर्ला र ?
चलचित्र भित्र मैले यस्तो डकुमेन्ट्री राखेको छु, जसमा अमेरिकी अनुसन्धानकर्ताहरूले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने प्रमाणित गरेका छन्। सिएनएन, न्युयोर्क टाइम, विभिन्न कलेजमा प्राध्यापकहरूले प्रमाण पुग्नेगरी बुद्धका बारेमा बोलेका छन्। त्यो एउटै डकुमेन्ट्रीले सबै सत्य प्रमाणित गरिदिन्छ। यो चलचित्र अमेरिकाका हरेक विश्वविद्यालयमा देखाउने कार्यक्रम छ।
यति ठूलो काम एक्लै गर्न लाग्नुभएको हो ? अमेरिकामा बस्ने नेपालीहरूसँग सहयोग लिनुभएको छैन ?
अरूको मुख ताक्ने हो भने समय त्यसै खेर जान्छ। बरु मेरो काम देखेर धेरै नेपालीहरू जोडिन थाल्नुभएको छ। अमेरिकाका विश्वविद्यालयहरूले विवादास्पद विषय भएका कारण सुटिङ गर्न नदिदा नेपालीहरूले मात्र होइन, नेपालप्रति सद्रभाव राख्ने अमेरिकीहरूले पनि साथ दिएका छन्। विस्तारै यो मेरो मात्र होइन, बुद्धको जन्मथलोका सम्बन्धमा वास्तविकता बाहिर आउनुपर्छ भन्ने सबैको हुन थालेको छ।
तपाईं सुरुमा हल्काफुल्का कुरा गर्दै हुनुहुन्थ्यो, अचानक गम्भीर पो हुनुभयो ?
नायकहरू यस्तै हुन्छन्। सुरुमा हल्काफुल्का लाग्छन्, अन्त्यमा उनीहरू नै नायक भएर निस्कन्छन्।
|
0 comments:
Post a Comment