|
|
असारे झरीमा रुझै पूर्व राजा ज्ञानेन्द्र शाहले जिल्लाका मठ मन्दिर तथा शक्ति पिठहरुमा शुक्रबार पुजा अर्चना गरेका छन् । शाहले जिल्लाको विश्रामपुस्थत संकटमोचन, वीरगञ्जस्थित गहवा र राणिसती मन्दिरमा पुजा अर्चना गरेका हुन् ।
दिउँसो अढाई बजे सबैभन्दा पहिले विश्रामपुर पुग्ने पूर्व निर्धारित कार्यक्रम रहेपनि उनी सवा चार बजे मात्र त्यहाँ पुगेका थिए । सिमराबाट दिउँसो कब ३ बजे हिडेका शाह जीतपुर, परवानीपुर, वीरगञ्जको पावर हाउस चोक,सुख्खा बन्दरगाह चोक, बिन्दवासिनी चोकमा समर्थकहरुको स्वागत ग्रहण गर्दै त्यहा पुगेका थिए ।
एक दर्जन गाडीको कार्गेडका बीच शाहले त्यहा निर्मित संकट मोचन मन्दिरमा प्रथम पुजा अर्चना गरे । शाह जिल्लाको ग्रामिण भेकमा पहिलो पटक प्रवेश गरेका हुन् । यस अघिको भ्रमणमा उनले बिन्दवासिनी मन्दिरमा पुजा अर्चना गरेका थिए ।
झरीमा रुझै उनी त्यहाँ पुग्दा लामो समयदेखि बाटोमा उनको स्वागतका लागि बसेका उनका महिला तथा पुरुष समर्थकहरु पनि भिजेका थिए । त्यहाबाट उनी वीरगञ्जस्थित गहवा माई मन्दिरमा पुजा अर्चनाका लागि पुगेका थिए । घण्टाघर र माइस्थान चोकमा उनको स्वागतका लागि ठूलो संख्यामा उनका समर्थकहरु प्रतिक्षारत थिए । सवा ५ बजे साँझ माइस्थान चोकमा गाडीबाट ओर्लिएका शाह हरियो कार्पेटमा हिँड्दै गहवा माई मन्दिर सम्म पुगेका थिए । मन्दिरको गेटमा उभिएर उनले नेताको शैलीमा त्यहाँ उपस्थित सर्वसाधारणलाई हात हल्लाएर अभिवादन फर्काएका थिए ।
कब आधा घण्टाको पुजा पछि उनले राणिसती मन्दिरमा राणिसती देवीको समेत पुजा अर्चनापछि उनले उद्योगी व्यवसायीसँग भेटघाट गरेका थिए । उद्योगी तथा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुलाल चाचान नेतृत्वको उद्योगी व्यवसायीको समूहले शाहसँगको संक्षिप्त भेटमा स्थानीय उद्योगी व्यवसायीको समस्या बारे अवगत गराएको थियो । चाचानले राजनीतिक अस्थिरताले मुलुकको औद्योगिक क्षेत्र धराशायी हुँदै गएको बताए शाहलाई ध्यानाकर्षण गराएका थिए । 'यस्तै अवस्था रहे मधेस मात्र होइन मुलुककै आर्थिक अवस्था धराशायी हुन्छ,' चाचानले भने 'यो अवस्थामा सुधारका लागि अब विकल्प सोच्नु पर्छ' ।
शाहले ध्यानाकर्षणको जवाफमा कुनै प्रतिक्रिया दिएनन् । त्यसपछि उनी यहाँस्थित सम्झना होटेलमा आफ्ना समर्थकहरुसँग केही समयको भेटघाट र रिफ्रेसमेन्ट पछि पुनः सिमरा फर्केका थिए ।
शाहको आगमनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । नेपाल प्रहरी तर्फ प्रह नायब उपक्षक मुकेश सिंहको नेतृत्वमा दुई सय आठ प्रहरी परिचालन गरिएको हो । सशस्त्र प्रहरीतर्फ पनि त्यतिकै संख्यामा परिचालन गरिएको छ ।
|
|


0 comments:
Post a Comment