|
|
डडेल्धुरा- दुई दिनदेखिको लगातार वर्षासँगै महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगाका पाँच दर्जन घर, आधा दर्जन बढी सरकारी कार्यालय तथा पसल बगाएको छ। बाढीमा एक महिलासमेत बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा धाप गाविस वडा नम्बर ५ की ३१ वर्षीय सरस्वती रैखोला छिन्। सदरमुकाम खलंगाको वडा न.५ बाँगाबगड तथा रिँगनेतालका दुई दर्जन घर तथा पसल, खलंगा २ गल्फैस्थित १० घर तथा पसल, तितरसैनस्थित स्रोत केन्द्र भवन खलंगाका साथै दार्चुला—तिंकर सडकको बङाबगड खण्ड बगाएको छ। खलंगा वडा नम्बर २ गल्फैको बस्तीमा नदी पसेको छ।
नदीको बहाब अत्यधिक तीव्र तथा जलस्तरमा वृद्विका कारण खलंगाको बाँगाबगड, रिँगनेताल, तिंकरखेडा, गल्फै, खेट्याबगड, नमस्कारका साथै धाप, लाली, दत्तु र उकुका सयौं घर उच्च जोखिममा परेका छन्। अझै कटान जारी रहेकाले परिवार विस्थापित हुने क्रम जारी रहे
को छ।
आइतबार साँझदेखि नै नदीमा बाढी आएपछि नदी आसपासका घरहरु खाली गरिएकाले मानवीय क्षति कम भएको प्रहरीले जनाएको छ। भारतीय पक्षले एकतर्फीरुपमा तटबन्ध निर्माण गरेकाले नदीको बहाब नेपालतर्फ आएको हो।
उता जिल्ला अस्पतालको शव राख्ने घर तथा जनस्वास्थ्य कार्यालय, जिल्ला वन कार्यालय, अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला, जिल्ला भूसंरक्षण कार्यालय, अगुवा स्रोत केन्द्र, जिल्ला खेलकुद विकास कार्यालय र खलंगाको खुला मञ्च बगाएको छ भने जिल्ला प्रहरी कार्यालय र दूरसञ्चार कार्यालय परिसर पनि कटान भइरहेकाले जोखिममा रहेका छन्।
बह्मदेव गाविसको कालागाड लघुजलविद्युत आयोजनाको पावर हाउससमेत बगाएको छ। महाकाली नदिको जलस्तर नेपाल–भारत जोड्ने झोलुंगे पुलसम्म पुगेकाले पुलसमेत जोखिममा परेको छ। आवत जावत ठप्प छ।
विस्थापित घरपरिवारलाई सुरक्षित स्थानतर्फ सार्दै गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आइतबार रातिदेखि नै नेपाली सेना र प्रहरी उद्धार कार्यमा खटिएका छन्। साँझ परेपछि नदीको जलस्तर बढ्दै जाँदा आसपास दुवैतर्फका स्थानीय बासिन्दा त्रसित बन्नुका साथै घर छोड्न बाध्य भएका थिए।
बाढीले करोडौंको मालसमान बगाएको छ भने सदरमुकाम खलंगा बजार बिहानैदेखि ठप्प छ।
।
।
|
|



0 comments:
Post a Comment