|
|
महेन्द्नगर , असार ८ - तिर्थयात्राको क्रममा उत्तराखण्डको बद्रिधाम नजिक पाण्डुसकेश्वरमा भीषण बाढीपहिरोका कारण सडक अवरुद्ध भइ अलपत्र परेका नेपाली तिर्थयात्रीहरुको एक टोली शनिबार कञ्चनपुरको सिमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएको छ ।
काभ्रेको रविओपि, अनैकोट, पाँचखाल र वीरता देउरालीका १६ महिला र १७ पुरुषसहित ३३ जनाको टोली शनिबार दिउँसो महेन्द्रनगर आइपुगेको हो ।
उनीहरु सकुशल स्वदेश फर्कँदा यहाँको सिमानाकामा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, प्रहरी उपरीक्षक विनोद शर्मा र कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्लले स्वागत गरे । टोलीलाई सिमाक्षेत्रबाट प्रहरीले सवारी साधनको व्यवस्था गरी नेपाल भित्र्याएको हो ।
चारधाम तिर्थयात्राका लागि जेठ १५ मा नेपालबाट निस्केका उनीहरु गंगासागरदेखि यमुनेत्री, गंगोत्री, केदारनाथ पुगेर बद्रीनाथ तर्फ गइरहेको अवस्थामा पाण्डुकेश्वर भन्ने ठाउँमा फसेका हुन । 'असार १ गते त्यहाँ पुग्दा बर्षा भइरहेको थियो, जाममा परेर अगाडि बढन सकेनौं' काभ्रे पनौती १ का कुमार अधिकारीले भने, 'सडक बन्द भएपछि त्यहि रोकियौं, ५ दिन त्यहि ठाउँमा बिताएर बडो मुस्किलले सातौं दिन शुक्रबार हल्द्वानी पुगेका हौं ।' उनले गाडी सडक अवरुद्ध भएकै ठाउँमा छोडेर १ दिनभरि पहाडमा हिडेर जोशी मठमा पुगेको बताए ।
भारतीय सेनाले पहाडका चट्टानमा रस्सीको सहारामा टोलीको उद्धार गरेको कुमारले बताए । उनले दुई दिन जोशीमठ मै बिताएर सातौं दिन कर्णप्रयाग हुँदै आठौं दिन बनवासा आइपुगेको बताए । पाण्डुकेश्वरमा मुखबाट रगत आएर अस्वस्थ भएकि काभ्रे रविओपि गाविस १ कि ५८ वर्षीया सिता गेलाललाई सेनाको हेलिकप्टरले उद्धर गरी जोशीमठस्थित सैनिक वेशमा पुर्याएर उपचार गरेको उनका श्रीमान तीर्थबहादुर गेलालले बताए ।
'सेनाले सहयोग नगरेको भए के हुन्थ्यो भन्न सक्तिन' तिर्थ बहादुरले भने । यात्रुहरुले आफ्नो टोलीलाई उद्धारमा संलग्न भारतीय सेना र पुलिसले राम्रो व्यवहार गरेको बताए । 'यस्तो व्यवहार त सायद आफ्नै देशमा पनि पाउन गाह्रो छ,' काभ्रे अनैकोटका रामप्रसाद सापकोटाले भने, 'उध्दारकर्मी नेपाली र भारतीय भनेर कुनै भेदभाव नगरी उद्धार कार्यमा जुटेका थिए ।
उनीहरु शनिबारै महेन्द्रनगरबाट रात्रीवसमा आफ्नो गृह जिल्ला काभ्रे प्रस्थान गर्ने कायृक्रम रहेको छ ।
तीर्थयात्री कुमारका अनुसार पाण्डुकेश्वरमा बनेपाका ३४ जनाको टोली अझै त्यही रहेको बताए । उनीहरु बदि्रनाथमा गर्ने भनेको सप्ताहको कार्यक्रम पाण्डुकेश्वर मै गरिरहेको उनले बताए । यसैगरी बद्रीनाथमा काभ्रे शंखु र काठमाडौं सिनामंगलका ३२ जना फसेको अवस्थामा रहेको खबर पाएको उनले बताए ।
यसैबीच उत्तराखण्डको विभिन्न ठाउँमा बाढी पहिरोका कारण सडक अवरुद्ध भई फसेका नेपाली कामदारहरु पनि उद्धार पछि घर फर्कन थालेका छन् । शनिवार गड्डाचौकी हुँदै बिभिन्न समूहमा ३५ जना कामदार घर फर्केका छन् ।
बद्रिनाथ भन्द २० किमि तल अलकनन्दा नदीको किनारमा रहेको गोविन्दघाट बाट शनिबार बझाङका १० जना कामदार घर फर्कने क्रममा गड्डाचौकी हुँदै नेपाल भित्रिएका हुन । यसैगरी सुदुर पश्चिमका अन्य जिल्लाका २५ कामदार पनि शनिबार फर्केका हुन् ।
'अलकनन्दा नदीमा भीषण बाढी आएर धमाधम घर भत्काएर बगाउन थालेपछि भागेर सुरक्षित ठाउँमा पुगि ज्यान जोगाएका हौं' बझाङ मटेला गाविसका हंशराज जोशीले भने, 'गोविन्दघाटमा चट्टान बाहेक सबै बगाएर ध्व्स्त भएको छ ।' उनीहरु गाविन्दघाट बाट १९ किमि टाढा रहेको हेमकुण्ड साहिवमा तिर्थयात्रीलाई डोलीमा बोक्ने काम गर्दै आएका थिए ।
ती कामदारहरुका अनुसार भारतीय सेनाले रस्सिको सहारामा आफूरुलाई काखमा बोकेर सुरक्षित ठाउँमा पुर्यएर जोगाएको बताए । उद्धारपछि नेपाल सिमासम्म आइपुग्दा गाडिको भाडा समेत तिर्नु नपरेको उनीहरुले बताए ।
अझै पनि थुप्रै नेपाली कामदारहरु बदि्रनाथ र केदारनाथमा अलपत्र परेको उनीहरुले बताए । 'हामी रहेको ठाउँमा त कुनै नेपालीको पनि मृत्यु भएन' बझाङका शिवराज जोशीले भने, 'तर केदारनाथमा भने केहि नेपाली कामदार र तिर्थयात्रीको मृत्यु भएको हल्ला सुनेका थियौं ।'
|
|


0 comments:
Post a Comment