|
काठमाडौ, असार १ - जाजरकोट जानु थियो । बास बस्नुपर्यो कपिलवस्तुको पत्थरकोटमा । तिनताक अहिलेजस्तो यातायात र होटलको सुविधा थिएन । श्रीमान् मीनबहादुर रायमाझीले रात गुजार्न एक घर छाने । साथमा थिए उनकै अदालतका एकजना चलाख सुब्बा । मान मनितो पाइन्छ भनेर होला, सुब्बाले रायमाझीको परिचय पहिल्यै दिए । नभन्दै त्यसको असर तुरुन्त देखा पर्यो ।
घरधनीले आफूसँग भएको सबभन्दा महँगो राडी विबच्छ्याइदिए । सकेसम्मको मीठो पकाएर खुवाए । यो अपर्झटको बासमा सोचेभन्दा बढ्तै मनितो पाउँदा तृप्त थिए रायमाझी । बेलुका सुत्ने बेलामा घरधनी उनी अघिल्तिर आइपुगे । साथमा दुब्लो काँटकी एउटी आइमाई र दुई साना बच्चाहरू थिए ।
'तपाईंले जसलाई सर्वस्वसहित जन्मकैद गरिदिनु भो, यो उसैकी पत्नी हो, यिनीहरू उसैका छोराछोरी हुन्,' उसको आवाजमा पीडाको गहिरो लेप थियो, 'अब भन्नुस्, हामी के गरौं ?' रायमाझीलाई पर्यो आपत ! ज्यान मुद्दामा भर्खरैजसो उनको इजलासले एउटा अधबैंसेलाई दोषी ठहर गरेको थियो । उनकै फैसलाअनुसार त्यो सर्वस्वसहित जेल गएको थियो, २० वर्षका लागि !
संयोग पनि कस्तो ! उनी त्यसैका घरमा बास माग्न पुगेछन् । बास दिनेले चिनेर पनि सुरुमा नचिनेजस्तो गर्यो । राति कहीँ जाने समय नभएपछि उसले कुरा खोल्यो र पीडा सुनायो । रायमाझीलाई त्यतिखेर हुनु सकस भएन । माहोल अलिक होलो बनाउन उनले अनेक सम्झाइ बुझाइ गरे । त्यसपछि भाइले गल्ती गरेको कुरा त दाजुचाहिँले पनि स्वीकार गरे । 'मेरो रगतै खराब हजुर,' भनेर लामो सास पनि तान्यो । तर उसको गुनासो रायमाझीप्रति ज्यूँका त्यूँ थियो ।
उनले अनेक उदाहरण झिकेर त्यसको भग्न मनमा मल्हम लगाइदिन खोजे । मान्छेको जीवनमा आइपर्ने सम्भावित असम्भावित समस्याहरूका बारेमा बेलिविस्तार लगाए । अनि भने, 'नहुनु भइसक्यो, तिम्रो भाइ थुनामा पनि परिसक्यो, अब राजाकोमा एउटा बिन्ती दिनु, राजाले चाहे छाड्न सक्छन्, तर यो हाम्रो हातबाट त हुँदैन ।'
'लौ त नि' भनेर ऊ बाहिरियो । हाम्रा श्रीमान्लाई चाहिँ लागेको निद्रा पनि भाग्यो । 'कतिखेर के हुने हो भन्ने डरले आँखा झिमिक्क पनि गरिएन,' स्मृतिको कालो उपत्यकामा उनी पुगेर बोलिरहेका थिए, 'पहिलो भाले बास्नेबित्तिकै हामी उठ्यौं र बाटो लाग्यौं ।'
जाने बेलामा उनले बास र खानपिनको हिसाब सोधे, 'कति भो ?' चल्तीको भाउअनुसार तिनताक ३० रुपैयाँसम्म खर्च भएको हुँदो हो । तर घरधनीले सदाशयतै देखायो र भन्यो, 'भइगयो श्रीमान्, पाहुनालाई केको पैसा !' रायमाझीको मनले मानेन । उनलाई त्यो आइमाईका दुई बच्चाको माया लागेर आयो । तिनका हातमा दुई सय रुपैयाँ हालिदिए र उनी बाटो लागे ।
एकताका उनी गणेस्थानमा नियमित दर्शन गर्न जान्थे । मन्दिरबाट र्फकनै लाग्दा एक दिन एउटा अधबैंसेसँग जम्काभेट भयो । 'नमस्कार श्रीमान्' उसले भन्यो, 'मलाई चिन्नु भो ?' रायमाझीले चिनेका त थिएनन् । तर त्यसको बाक्लो आत्मीयताको कदर गर्दै भनिदिए, 'चिनें नि, किन नचिन्नु !'
रायमाझीले चिन्छु भनेको उसलाई पत्यार लागेनछ क्यार । उसले सोधिदियो, 'लौ भन्नुस् त म को हुँ ?' अब उनले सत्य कुरा खोल्नैपर्ने भयो । 'माफ गर्नुस्, मैले यहाँलाई चिनिनँ, तपाईंलाई चित्त दुख्ला भनेर चिने भनिदिएको हुँ,' उनले भने, 'भन्नुस् त यहाँ को पर्नु भो ?'
'म क्या त, तोयनाथ !' त्यस गधापच्चिसेले भन्यो, 'मलाई यहाँले थुनामा पठाउने आदेश दिनुभएको थियो नि, सम्झनु भो ?' रायमाझी बल्ल पो झल्यास्स भए । पर्वतमा उनी जिल्ला न्यायाधीश हुँदा एउटा ठूलो लुटपाट भएको थियो । एघार लुटेरालाई प्रहरीले पक्रेर मुद्दा चलाएको थियो । त्यसमा एक थियो उही तोयनाथ । सबुद र प्रमाण बुझेपछि रायमाझीले आदेश दिए, 'यी प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामै राख्नु ।'
पछि उनी सुरुवा भएर हिँडे । गणेशथानमा त उही तोयनाथ पो भेट हुन आयो । 'मैले त सफाइ पाएँ नि हुजुर,' तोयनाथ खुसी थियो । रायमाझीले उसमाथि अन्याय गरे कि सफाइ दिने न्यायाधीशले कानुन मिचे ? श्रीमान्लाई खसखस भएर आयो ।
'तपाईं छुट्नु भएछ, म पनि खुसी छु, तर एउटा कुरा नढाँटी भन्नुस् त तोयनाथजी, तपाईं त्यो वारदातमा हुनुहुन्थ्यो कि हुनुहुन्थेन ?' तोयनाथले किञ्चित संकोच नमानी भनिदियो, 'त्यो त थिएँ श्रीमान् !'
अचेल उनको मन सिनेमाका रिलजस्तै घुमिरहन्छ । स्मृतिका पानाहरू आफैं पल्टिन्छन् । बितेका कुरा सम्झनामा आइरहन्छन् । घरी त्यो दुब्लो काँटकी आइमाई छोराछोरीसहित उनी अघिल्तिर रुन्चे अनुहार लिएर आउँछे, घरी तोयनाथ मुस्कुराउँदै भन्न आइपुग्छ, 'मलाई चिन्नु भो श्रीमान् ?'
इजलास अधिकृत हुँदै जिल्ला न्यायाधीश भएका मीनबहादुर रायमाझीले प्रधानन्यायाधीश भएर पनि अवकाश पाएको ४ वर्ष बितिसक्यो । सत्तरी वर्षको यो उमेरमा उनले भोगेका, देखेका र जानेका कुराका सम्झना ताजा भएर आउँछन् अचेल ।
झन्डै पूरै जीवन अदालतमा बिताएका रायमाझीले एक लाखभन्दा बढी मुद्दाको सुनुवाइ गरेका रहेछन् । त्यसमध्ये ३० हजारको छिनोफानो उनकै हातबाट भएको छ । उनका फैसलाका कारण कति जेल परे होलान्, कतिको जग्गाजमिन गुम्यो होला र कति दोषी करार भए होलान् ? 'त्यो सम्झेर के साध्य ?' हालैको एक दिन रायमाझीले भने, 'न्यायाधीश भएपछि एउटालाई जिताउनै पर्छ, अर्काेलाई हराउनै पर्छ, सत्य, कानुन र प्रमाणका आधारमा फैसला गर्ने हो, तर हार्ने त सधैं रिसाउने नै भयो ।'
अचेल उनका दिनहरू फुर्सदिला छन् । अवकाशपछि समय नै समयले घेरेको छ । दिन के गरेर बित्दो हो उनको ? 'अचेल म नगरेको कुरा गर्न थालेको छु,' रायमाझी मुस्कुराए, 'दिन त यसै बितिहाल्दो रहेछ नि ।' रायमाझी यो उमेरमा स्पा जान्छन् । कम्मर दुख्न थालेपछि स्विमिङ जान छाडेका थिए । अहिले फेरि यो गर्मीमा जाने योजना बुन्दै छन् ।
जीवनमै नगरेका यी दुई कामबाहेक रायमाझी अहिले अर्काे काम पनि गर्दै छन्, आफ्ना सारा सम्झनालाई एउटा पुस्तकाकार दिने । त्यसका लागि उनले कम्प्युटर चलाउन सिके । 'अहिले म नेपाली आफैं टाइप गर्न सक्छु,' उनले भने, 'किताब लेख्ने होइन, टाइप गर्ने हो अब ।'
यो उमेरमा पनि खाइलाग्दो र हट्टाकट्टै देखिन्छन् रायमाझी । यसको कुनै रहस्य पनि त हुँदो हो ?
जवाफ दिनुअघि उनी केहीबेर चुप लागे । कसैले उनलाई भनेको रहेछ, दिनको ४ हजार पाइला हिँड्ने मान्छे सधैं स्वस्थ हुन्छ । रायमाझीका कानमा यो परेदेखि नै उनको खुट्टा हरेक बिहान ४ हजार पाइला हिँडेरै घर र्फकने गथ्र्याे । पछि सुरक्षाकर्मीहरूले यसरी मनमौजी नहिँड्न आग्रह गरे । त्यस बेलादेखि उनी आँगनमै फन्को मार्छन् र त्यति हजार पाइला पुर्याएरै छाड्छन् । अचेल उनी बस्ने जावलाखेलको घरको कम्पाउन्डमा ४० फन्को मारेपछि ४ हजार पाइला पुग्छ । यसरी व्यायाम गरेपछि उनी आराम गर्छन् । दूध-भात र घिरौंलाको तरकारी उनलाई मीठो लाग्छ । 'दूध म थोरै खान्छु तर एकदम बाक्लो' उनले भने ।
व्यायाम र खानपिन गरेपछिको उब्रेको सबै समय उनी लेखपढमा बिताउँछन् । रायमाझीको भव्य पुस्तकालय पनि छ घरमै । अन्तर्वार्ताको समय उनी त्यही पुस्तकालयमा भेटिएका थिए । मन्डेलाको 'लङ वाक टु पि|mडम' देखि 'महाभारत' र 'गीता' पनि उनकोमा छ । कानुनका अनेक ठेली त हुने नै भए । अचेल दक्षिण अपि|mकाको एउटा अस्पतालमा जीवनको अन्तिम सास गनिरहेका मन्डेलाको पुस्तक रायमाझीले अवकाश हुनेबित्तिकै पढिसिध्याएका थिए ।
'व्युटिफुल π' त्यस पुस्तकका बारेमा उनको टिप्पणी थियो, 'बीचबीचमा तपाईं रुनुहुन्छ यो पढ्दा ।' सर्वाेच्चबाट बाहिरिएकै दिनदेखि कानुनी पुस्तक पढ्न छाडिदिए उनले । अब यसमा रुचि पनि छैन उनलाई ।
'अब त मर्ने बेला भो, त्यसको पो तयारी गर्ने हो,' उनी गम्भीर देखिए, 'अब पनि कता कानुनी दाउपेचमा लागिरहनु !'
उनले लेख्न लागेको पुस्तक पनि मर्ने तयारीकै एउटा उपक्रम रहेछ । 'जाने बेलामा एउटा सम्झना होस् भनेर' लेख्न लागेका रे ! 'आर्ट अफ डेथ एन्ड डाइङ' भन्ने पुस्तक उनलाई निकै मन पर्छ । 'अवकाश हुनुअघिसम्म मलाई धार्मिक पुस्तकबारे थाहै थिएन,' भन्छन्, 'अचेल मलाई गीता, महाभारत, रामायण सबै थाहा भइसक्यो ।' गीताको दर्शनले उनलाई भित्रैसम्म छोएको छ । त्यसमा पनि कर्मयोगले उनलाई मोहनी नै लगायो भने पनि हुन्छ ।
टाकुरामा पुगेको मान्छेले तल उपत्यकालाई, आफूले हिँडेर आएको बाटोलाई र पर क्षितिजलाई हेरेजस्तो गरी उनी आफ्नै विगतलाई नियाल्छन् अचेल । कुनै बेला उनी जागिर, संसार, समाज भनेर बतास सरी कुदिहिँड्थे । कतिपटक उनी रिसाएका पनि छन् झगडियासँग । सरकारी जमिन जालसाजीपूर्वक हडप्ने एउटा झगडियालाई आफैंले चड्कन हानेर सत्य बकाएका पनि छन् । शाही आयोग खारेज गर्ने निर्णय गर्न घरबाट निस्कँदा पत्नीलाई 'जे पनि हुन सक्छ, घर नफर्किन पनि सक्छु, तिमी आफ्नो व्यवस्था गर्नु' भनी निस्केका पनि छन् । कति वास्तविकता र गम्भीरताका साथ बिताएका दिन थिए ती ! अहिले सम्झँदा सबै कथा जस्तो !
उनले गरेका फैसलामध्ये तत्कालै लागू भएको शाही आयोगकै फैसला थियो । नेताहरू जेल परेका थिए । आयोग खारेज हुनेबित्तिकै ती छुटे । रायमाझी फैसला पढेर घर पुग्दा नपुग्दै नेता रिहा भए । घर गएर टीभी हेर्दा उनी आफैं चकित थिए । उनी र उनका सहकर्मी न्यायाधीशहरूलाई धम्की पनि आएको थियो । राजाले लगाउनु विधि शक्ति लगाए । अनेकतिरबाट भनाए । तर जे जति भने पनि मीनबहादुरले टेरेनन् । 'म कालोलाई सेतो भन्न सक्दिनँ,' यसो भन्दा चस्माभित्र उनका आँखा कतै शून्यमा स्थिर भएजस्ता देखिन्थे ।
भोजपुरको धूले स्कुलमा पढेलेखेका रायमाझीको एउटै छोराले भने राम्रो शिक्षा पाए जो अहिले सिंगापुरको एउटा युनिभर्सिटीमा एमबीए गर्दै छन् । घरमा पत्नी र उनी मात्रै छन् । १७ सालमा एसएलसी पास गरेका उनले स्कुले जीवनमै माधवप्रसाद घिमिरेका कविताहरू पढेका थिए । पाँच वर्षअघि प्रधानन्यायाधीश भएको बेलामा उनलाई एउटा अनुरोध आयो, कविवरलाई सम्मान गर्ने कार्यक्रमको प्रमुख अतिथि भइदिने ।
'कि राष्ट्रपतिको कि प्रधानन्यायाधीशको हातबाट मात्रै सम्मान लिन्छु' कविवरको सर्त रहेछ । राष्ट्रपतिकोमा तिनताका दलहरूले धर्ना कार्यक्रम राखेकाले प्रस्ताव रायमाझीकोमा आएको थियो । 'भर्खर मात्रै म आफैंले न्यायाधीश आचारसंहिता बनाएको थिएँ,' उनले भने, 'त्यसमा न्यायाधीशले न्यायिक कामबाहेक अरू गर्न नमिल्ने भन्ने थियो, त्यो पालना गर्न मैले कविवरलाई सम्मान गर्न अस्वीकार गरेँ, अहिलेचाहिँ बडा नमज्जा लाग्छ, सम्मान गरेको भए हुन्थो, त्यो मौका मैले गुमाएँ ।'
|
0 comments:
Post a Comment