Home » » क्यान्सरको शंकामा राष्ट्रपतिलाई जापान लगिंदै

क्यान्सरको शंकामा राष्ट्रपतिलाई जापान लगिंदै



काठमाडौं, असार २ - राष्ट्रपति रामवरण यादवलाई जापानको अस्पतालमा उपचार गराउन सोमबार टोकियो लगिने भएको छ ।
दुई महिनादेखि पखाला लागिरहने समस्याबाट पीडित यादवको राजधानीको ग्रान्डी अस्पतालमा सिटी स्क्यान गर्दा ठूलो आन्द्रामा गिर्खो देखिएको र त्यो क्यान्सर हुन सक्ने चिकित्सकको शंकापछि सरकारले सुविधासम्पन्न विशेषज्ञ अस्पतालमा उपचार गराउन सोमबार जापान पठाउन लागेको हो ।
मन्त्रिपरिषद्को आइतबार बसेको आकस्मिक बैठकले ठूलो आन्द्रामा घाउ देखिएका राष्ट्रपति यादवलाई मेडिकल बोर्डको सिफारिसमा जापानको अस्पतालमा उपचार गर्न पठाउने र सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलका अनुसार सरकारले जापानमा राष्ट्राध्यक्षको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन त्यहाँस्थित नेपाली दूतावासलाई निर्देशनसमेत दिइसकेको छ ।
यादवलाई हङकङ एयरको सोमबार दिउँसो १:३० बजेको उडानबाट जापान लगिने र मंगलबारदेखि उपचार सुरु हुने परराष्ट्र मन्त्रालयका अधिकाले बताएका छन् । राष्ट्रपतिसँग सरकारतर्फबाट परराष्ट्रका शिष्ट्राचार महापाल निरञ्जन बस्नेत, राष्ट्रपतिका छोरा चन्द्रमोहन र छोरी अनिता, निजी चिकित्सक यादव भट्ट, कानुनी सल्लाहकार सूर्य ढुंगेल र तीन सुरक्षाकर्मीसहित १० जना जानेछन् ।
अस्वस्थ्य भएपछि गरिएको मेडिकल परीक्षणमा राष्ट्रपतिको ठूलो आन्द्रामा घाउ देखिएको छ । राष्ट्रपतिले शुक्रबार त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए भने शनिबार बिहान धापासीस्थित ग्रान्डी अस्पतालमा सिटी स्क्यान गरिएको थियो ।
प्रेस सल्लाहकार दाहालका अनुसार राष्ट्रपति अहिले पनि दैनिक कामकाजमा छन् । 'उहाँको अहिलेको स्वास्थ्य नर्मल नै छ,' उनले भने, 'दैनिक काम गरिरहनुभएको छ ।'

0 comments:

Post a Comment

Find Us On Facebook