Home » » त्रिशुलीमा बगेका अझै भेटिएनन्

त्रिशुलीमा बगेका अझै भेटिएनन्


धादिङ - घटना भएको दोस्रो दिनसम्म पनि त्रिशुली नदीमा पसेर वेपत्ता भएका युवा युवतीको अवस्था आइतबार रातिसम्म पनि पत्ता लाग्न सकेको छैन।


चितवनको दारेचोक गाविस–३ कुरिनटरस्थित रिभर साईड रिसोर्ट नजिकैबाट शनिबार दिउँसो एकै परिवारका तीन दिदीबहिनी सहित पाँच जना वेपत्ता भएका थिए। कृष्णपुरका श्रीकृष्ण रेग्मीका छोरीहरु मोनिका रेग्मी, रजनी रेग्मी, लिजा रेग्मी धर्मचोककी अस्मिता थापा र नारायणगढ बेलचोकका जनक रावत हालसम्म वेपत्ता छन्।
त्रिशुली नदीले बगाएर वेपत्ता भएका उनीहरुको खोजीका निम्ति तालिम केन्द्रले चार वटा टीम परचालन गरेको थियो। शनिबार दिउँसो करिव चार बजे पौडी खेल्न पसेका पाँच जनाको खोजी कार्य तिब्र बनाइए पनि हालसम्म भेट्टाउन नसकेको सशस्त्र प्रहरी वल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दुर्गाबहादुर कँवरले बताए। गोताखोर तालिम लिएका प्रहरी निरीक्षकको कमाण्डमा मोटरबोट, र्‍याफ्टबोट, पैदल टोली खटाएका छौं, दिनभरी खोजी गर्दा पनि सफलता हासिल गर्न सकेका छैनौं'- प्रमुख कुँवरले भने।
तालिम केन्द्रले प्रहरी निरीक्षक बसन्त धितालको कमाण्डमा मोटरबोट, प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा र्‍याफ्टबोट सहितको कायाक, प्रहरी नायव निरीक्षकको कमाण्डमा २५ जनाको माइनस प्लाटुनलाई पैदल गस्ति र प्रहरी सहायक निरीक्षकको कमाण्डमा बगाएर ल्याउँदैछ कि भनेर रेखदेख गर्न देवघाटमा १३ जनाको एक सेक्सन तैनाथ गरिएको प्रहरी नायव उपरीक्षक दिपेन्द्र गिरीले जानकारी दिए। हामीसँग भएका सबै उद्दार सामाग्री र जनशक्ति प्रयोग गरेर खोजीलाई तिब्रता दिएका छौं। पानीको भँगालो ठुलो भएका कारण सोचेजति सफलता हासिल गर्न सकेका छैनौं- गिरीले नागरिकसंग भने।
त्रिशुलीको पानीमा करेण्ट हाइ भएका कारण नदी भित्र पस्न सकेका छैनौं। दिनभर एङ्गल दवाउँदै खोजी गर्दा भेटिएन- प्रमुख कुँवर बताउँछन्। तालिम केन्द्रमा २५ जनाको गोताखोर तालिम प्राप्त उद्वार टोली छ। तर त्रिशुली नदीमा सिधै पसेर उद्दार गरिहाल्न टोली तयारी अवस्थामा छैन। नदीमा धमिलो पानी, हाइकरेण्ट छ। अक्सिजन, एयर प्रोटेक्सन, मास्क जस्ता अत्यावश्यक सामाग्री तालिम केन्द्रमा आइपुगिसकेको छैन- कुँवरले भने -यिनीहरुको कारण पनि सोचेजति सफलता हासिल गर्न सकेका छैनौं। सामाग्री हुँदा पनि हाइ करेण्ट र धमिलो पानी गोताखोरलाई चुनौति भएको उनले बताए।
वेपत्ताको अवस्था पत्ता लाग्छ कि भनेर पीडित परिवारका आफन्त पनि दिनभरी नदी किनारमा व्यस्त रहे। साँझसम्म केही फेला नपरेपछि उनीहरु चितवन फर्किएका छन्। वेपत्ता रेग्मी दिदीबहिनीका काका सुमन रेग्मी दिनभरी नदी किनारमा खोजी गरेर साँझ निराश हुँदै घर फर्किएका छन्। दुई दिन भैसक्यो अत्तो पत्तो छैन, अवस्था पहिचान नहुँदा कुनै प्रक्रिया गर्न पाएका छैनौं उनले भने।
तीन छोरी गुमाएका रेग्मी परिवार पिडाले विछिप्त बनेको छ। घटनाको खबर सुनेदेखी दाजु भाउजुको आँखा ओभानो छैन। झन वेपत्ताको खोजीमा हिँड्दाको पिडा समेत थपिएको सुमनले बताए। पाँच छोरी र एक छोरा सहितको रेग्मी परिवारमा सोच्दै नसोचेको विपत्ति आइपरेको उनी बताउँछन्। खोजी कार्यमा सशस्त्र प्रहरीले अत्यन्तै सहयोग गरेको बताउँदै पिडित परिवारले नेपाल प्रहरीको मुग्लिङ इलाकाको भने अपेक्षाकृत सहयोग नपाएकोमा गुनासो गरे।

0 comments:

Post a Comment

Find Us On Facebook