|
एउटा कमिजको मूल्य अढाई लाख डलर सुन्दा पत्याउन गाह्रो छ। तर, यो सत्य हो र यति महँगो कमिज पहिरिने व्यक्ति पनि धेरै टाढाका नभई नजिकको छिमेकी मुलुक भारतवासी हुन्। हो, भारत पूणेका दत्ता फुग्गे संसारकै एक त्यस्ता व्यक्ति हुन् जसले एउटै कमिजका लागि अढाई लाख डलर अर्थात् सवा करोड रुपैयाँ खर्च गरेका छन्। आखिर शरीरमा पहिरिने एउटा कपडा किन यति महँगो भन्ने प्रश्न उठ्नु स्वाभाविक छ। उक्त कमिज यत्तिकै महँगो परेकोचाहिँ होइन, वास्तवमा त्यो सर्ट तीन किलो तीन सय ग्राम सुन खर्च गरेर तयार भएको छ। सुनका आभूषण भनेपछि हुरुक्कै हुने दत्ताको गला, नाडी र औँलाहरू पनि सुनैसुनले लदिएका छन्। कपडा र गरगहना गरी कुल मिलाएर झन्डै पाँच केजीजति सुन उनको शरीरमा रहेको हुन्छ। सुनको उक्त वस्त्र पूणेकै एक एक सय ३३ वर्ष पुरानो ज्वलरी सपले विशेष मिहिनेत गरी तयार गरेको हो। ‘गोल्डम्यान’का नामले समेत चिनिन थालेका दत्ता आफ्नो अलग पहिचानका लागि सुनको कपडा बनाएर पहिरिएको सगर्व बताउँछन्। कलेज पढ्दा कसैले ‘ठूलो घरानाका व्यक्ति कहलिनु छ भने जतिसक्दो सुनका गहना प्रयोग गर्नुपर्छ’ भनेको सुनेदेखि आफूमा सुनप्रति लगाव बढेको फुग्गे बताउँछन्। उनले सुनको कपडा र गरगहना पहिरिएर हिँड्दा सुरक्षाकर्मीको एउटा बेग्लै दस्ता साथ लाग्ने गरेको छ। अब फुग्गेको चाहना एउटा सुनको मोबाइल र एकजोर सुनको जुत्ता पहिरिने रहेको छ।
|
0 comments:
Post a Comment