|
|
चलचित्र महोत्सवमा १३ लाख खर्च भएको दाबी
गोपाल दाहाल
२१ जेठ, धरान । राष्ट्रिय चलचित्र महोत्सव लथालिङ्ग भएर सकिए पनि चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैता पप्पुलाई भने स्थानीय आयोजकले धरानका होटलहरुको बाँकी नतिरेसम्म फर्किन नदिने भएका छन् । विभिन्न होटलमा बसेको र खाएको गरी जम्मा करिब ७ लाख रुपैयाँ तिर्न बाँकी छ ।
स्थानीय स्तरबाट १० लाख रुपैयाँ उठाउने भनिए पनि जम्मा ३४ हजार ५ सय मात्र उठेको छ । बोर्डले नतिरेपछि आफूलाई अफ्ठ्यारो पर्ने भन्दै स्थानीय आयोजक सदस्यहरुले पैसा नतिरेसम्म धरानबाट हिँड्न नदिने बताएपछि पप्पु यतिबेला धरानमै छन् ।
पप्पुलाई पैसा तिरेर मात्रै धरान छाड्न भनेको अनामका सदस्य सुवास थापा बताउँछन् । उनले अनलाईनखबरसँग भने ‘यहाँ हुँदै मोबाइल अफ हुन्छ, भोलि के हो के हो, त्यसैले तिर्नू अनि धरान छाड्नू भनेका छौं ।’
आइतबार पप्पु मोबाईल अफ गरेर हराएपछि स्थानीय आयोजक रिसाएका हुन् । उनीहरुले बोर्डले अनामलाई प्रयोग मात्र गरेको गुनासो गरेका छन् । महोत्सवका लागि निर्माण गरेको मञ्चका लागि १ लाख ४० हजार खर्च भएको छ भने साउण्ड सिष्टमको ७५ हजार, स्वागतद्वार निर्माणमा २५ हजार तथा ब्यानर र पोष्टरमा १ लाख २८ हजार खर्च भएको बताइएको छ । त्यसबाहेक बोर्डले काठमाण्डौबाट ३ वटा गाडीको प्रतिगाडी जम्मा १ लाख दिने गरी ल्याएको बताइएको छ ।
कलाकार, निर्माता निर्देशक, प्राविधिक संघका गरी जम्मा १ सय ४३ जना काठमाण्डौबाट आएका मध्ये २८ जना प्लेनमा र बाँकी बसमा आएका थिए । बसमा मध्यरातमा धरान आइपुगेकाहरुको सुरुदेखि नै बिजोग भएको थियो । रातिसम्म भानुचौकमा अलपत्र परेकाहरु कोही सानो कोठामा खाँदिएर सुतेका थिए भने प्राविधिक संघका सदस्यहरु आफ्नै खर्चमा कञ्चनजंगा होटलमा पुगेर सुतेका थिए । महोत्सव सुरु भएको दिन शनिबारदेखि नै निर्माता, निर्देशकले व्वस्थापन बहिस्कार गर्दै आफ्नै खर्चमा खाने र बस्ने व्यवस्था गरेका थिए ।
स्थानीय आयोजका अनुसार करिब १० लाखमा सम्पूर्ण महोत्सव सम्पन्न भएको छ । तर, बोर्ड अध्यक्ष पप्पुले १३ लाख जति खर्च भएको बताएका छन् ।
हुन त महोत्सवको तयारीमा एक महिना अघिदेखि नै आएका बोर्ड सदस्य नीलहरी काफ्ले र वीचमा आएका पप्पुले धरानका वेलकम, खुस्बु, रत्नाइन लगायतका होटलमा दैनिक रक्सी खाने गरेका थिए । कार्यक्रमको तयारी भन्दा पनि रक्सी पिउन व्यस्त उनीहरु मोज मज्जामै भुलिँदा महोत्सवको अघिल्लो रातसम्म के-के कार्यक्रम गर्ने भन्ने तालिका नभएको गुनासो स्थानीय कलाकारहरुको छ । रातभर लगाएर बनाएको तालिकामा धेरै गडबढ भएपछि कार्यक्रमस्थलमै स्थानीय कलकारसँग आयोजकको झण्डै कुटाकुट भयो भने कति बेला के कार्यक्रम हुने भन्ने कसैलाई थाहा नहुँदा महोत्सव औपचारिकतामा मात्र सीमित बन्यो ।
धरानका २ वटा हलमा ४ वटा फिल्म प्रदर्शन गरिने कार्यक्रम भए पनि कतिबेला कुन चलचित्र प्रदर्शन भयो, अधिकांशले पत्तै पाएनन् । लथालिङ बन्दै सकिएको महोत्सवले धरानको बेइज्जत मात्र गरेको भन्दै धरानवासीहरु भने दुःखी बनेका छन् ।
|
|



0 comments:
Post a Comment