|

तर यही चटारोबीच दुवैले शनिबार बिहान २ घन्टामै आफ्ना सन्तानको बिहे सम्पन्न गराए।
असार १५ मा किसानलाई रोपाइँमा जानेजस्तै शनिबार हतारमा रहेका दुई सम्धी थिए – नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य र एकीकृत माओवादीका केन्द्रीय सदस्य केशव नेपाल। वैद्य पोखरा जाने तयारी थिए भने नेपाल पेरिसडाँडा पुग्ने। तर हतार–हतार नेपालका एक्ला छोरा अनज र वैद्यकी कान्छी पुत्री सृजनाबीच शुक्रबार बिहेको गाँठो कसियो।
संविधानसभा चुनाव बहिष्कार, उपयोग वा भाँड्ने नीति बुन्न पोखरा जान लागेका वैद्यले धापासीनजिकैको डेराबाट छोरी अन्माए। बुधबार मात्र केटा–केटीबीच प्रेम सम्बन्ध रहेको दुवै नेताले थाहा पाएका थिए। बिहे गर्न राजी भएको कुरा उनीहरूले आमाबुबासँग निर्धक राखेपछि बुधबारै केटा–केटीको औपचारिक भेट गराइएको थियो।
'बुधबार बिहेको कुरो छिनियो। बिहिबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा कोर्ट म्यारिजका लागि निवेदन दिए,' एक जन्तीले भने, 'शुक्रबार दुवै नेतालाई बैठकको हतारो थियो। बिहे बिहानै सक्ने निर्णय भएको हो।' वैद्यले दुई पार्टीको वैचारिक कारणले सम्धी नेपाललाई बिहे आफ्नो घरमा नगर्ने कि भन्ने जिज्ञासा राखेपछि नेपालले कोर्टबाटै घर लैजाने जवाफ दिएका थिए।
वैद्यको घरबाट एकाएक बैठकमा हिँड्न हतार छ, बिहे बिहानै सक्ने कि? भनेर नेपाल परिवारलाई फोन गएपछि दुई घन्टामा बिहे सकाइएको थियो। इन्जिनियरिङ पढिरहेका अनुज एकीकृत माओवादी विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन्। २०६३ सालमा अनुज बुवासँगै माओवादीमा प्रवेश गरेका थिए। सृजना स्नात्तककोत्तर गरिरहेकी छिन्।
कोटपाइन्ट र टाई लगाएका अनुज दुलाहा जस्ता देखिन्थे भने दुलहीले कुर्थासुरवाल पहिरिएकी थिइन्। बिहेमा मण्डप थिएन, टिटेबुलमा सेतो फूलको माला र रातो टीका थियो। दुलाहा–दुलही दुवैले एकअर्कालाई माला लगाइदिएपछि सहभागीले ताली बजाए र बिहे टुंगियो।
दुई पार्टीका तर्फबाट कसैलाई नबोलाउने सहमति भएको थियो दुई सम्धीबीच। तर 'पोखरा हिँड्न हतार छ' भन्दै महासचिव रामबहादुर थापा, सचिव नेत्रविक्रम चन्द, कुलबहादुर केसीलगायत नेता वैद्य निवास पुगे। नेपालले तत्कालै वैद्यका माइली छोरी चेतनाका ससुरा एवं एकीकृत माओवादीका नेता अग्निप्रसाद सापकोटालाई बोलाए। सहभागी नेताहरूले दुलाहा–दुलहीलाई टीका र खादा लगाएर बधाई दिएका थिए।
दुलाहा–दुलही दुवै राजनीतिक परिवारमा हुर्केको सन्दर्भ औंल्याउँदै वैद्यले छोटो भाषढण पनि गरे। 'कम्युनिस्ट संस्कार र सिद्धान्तका लागि यो नयाँ आयाम हो। यो रूपान्तरणलाई हामीले भावनात्मक एकताका रूपमा अँगाल्नु पर्छ,' वैद्यले छोरी–ज्वाइँलाई बधाई दिँदै भने।
छोराबुहारीलाई घर भित्र्याउँदाको खुसीमा नेपालले भने, 'जीवन एकता, संघर्ष, रूपान्तरण हो। यही दिशामा छोराबुहारीले जीवनको सुरुवात गर्ने छन्। यो परिवार राजनीतिक संस्कारमै हुर्केकाले त्यो दिशा समाउनेमा ढुक्क छु।'
२०४२ सालमा नेकपा (मशाल)को पाँचौं महाधिवेशनबाट वैद्य महामन्त्री बन्दा नेपालले उनलाई सहयोग गरेका थिए। त्यतिबेला वैद्यलाई सहयोग गर्ने एकसय ७ जनामध्ये सिन्धुपाल्चोक निवासी नेपाल पनि थिए। नेपालपछि मोहनविक्रम सिंहकै पार्टीमा फर्केका थिए। वैद्यका तीन छोरीमध्ये माइली चेतनाको अग्नि सापकोटाका जेठा छोरा दीपकसँग बिहे भएको हो। संयोगले वैद्यका दुई सम्धी सिन्धुपाल्चोक र एकीकृत माओवादी पाटीकै छन्। जेठी छोरी बिहे गरेर सिलिगुडी बागदुगरा पुगेकी छिन्।
|
0 comments:
Post a Comment