Home » » डलरले डामाडोल

डलरले डामाडोल



काठमाडौ, असार ८ - -विद्युत् प्राधिकरणले खिम्ती र भोटेकोसी जलविद्युत् आयोजनाबाट किन्ने बिजुलीको मूल्य एक महिनाअघिको भन्दा करिब ५ करोड रुपैयाँ बढी तिर्नुपर्ने छ । यो उत्पादित बिजुलीको भाउ बढेका कारण नभई अमेरिकी डलर महँगिएकाले प्राधिकरणलाई परेको व्ययभार हो ।
-एक महिनाअघि २० करोड नाफामा रहेको आयल निगम अहिले २५ करोड घाटामा छ । डलरको भाउ अहिलेकै ९६ रुपैयाँमा रहिरहने हो भने एक महिनापछि उक्त घाटा कम्तीमा ४० करोड रुपैयाँ पुग्ने छ ।
-चीनबाट सामान आयात गर्ने व्यवसायीहरू डलर बढेकै कारण यतिखेर कुनै पनि सामानको अर्डर नगरी बसेका छन । यही रफ्तारमा बढिरहे वा अहिलेकै दरमा स्थिर मात्रै भए पनि यसपटकको दसैंमा कपडा मात्र नभई इलेक्ट्रोनिक्सदेखि अन्य आयातित सामानको मूल्य कम्तीमा २० प्रतिशत बढ्ने छ ।
यी डलर महँगिँदै गएर बजारमा देखिएका केही प्रभाव हुन् । अहिले एक डलर किन्न झन्डै ९६ रुपैयाँ खर्चिनु परेको छ । एक महिनामै डलरको भाउ ९ रुपैयाँले बढेको छ । नेपाली रुपैयाँ यति धेरै कमजोर भएको पहिलो पटक हो ।
अमेरिकी डलरसँगको यो दर कायमै रह्यो भने निर्यातभन्दा पाँच गुणा बढी आयात गरिरहेको मुलुकका सर्वसाधारणको खल्तीमा ठूलो प्रभाव पर्ने छ । दुई महिनाअघिको तुलनामा १२ प्रतिशत महँगिएको डलरले बजार मूल्य कम्तीमा २० प्रतिशत बढाउने छ ।
डलर महँगो हुँदा निर्यातबाट आएको रकम नेरुमा परिवर्तन गर्दा बढी हुन्छ । यसैगरी महँगो डलर तिरेर सामान आयात गर्दा बढी पैसा खर्च हुने हुँदा बजार मूल्य बढ्छ ।
रेमिट्यान्सबाट आउने रकम नेपाली मुद्रामा परिवर्तन गर्दा बढे पनि आयातित सामानको बढेको मूल्यले सकारात्मक प्रभाव पार्न दिने छैन । कुल वैदेशिक व्यापारमा ८६ प्रतिशत आयात र १४ प्रतिशत मात्रै निर्यातको हिस्सा छ । यसले निर्यातबाट हुने लाभको पनि महत्त्व नहुने व्यवसायी बताउँछन् ।
'अहिले सामान नै नकिनी बसेका छौं, असार १५ देखि दसैंका लागि सामान अर्डर गर्न थाल्नुपर्ने हो,' नेपाल हिमालय सीमापार वाणिज्य संघका प्रथम उपाध्यक्ष केशवबहादुर रायमाझीले भने, 'यही अवस्था कायम रहने हो भने डलरकै कारण दसैंमा सामानको मूल्य कम्तीमा २० प्रतिशत बढ्ने छ ।' भारतपछि चीनबाट सबैभन्दा धेरै आयात हुन्छ ।
२९ अर्बको दायित्व बोकिरहेको आयल निगममा डलरको प्रभाव देखिन थालिसकेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुरेश अग्रवालका अनुसार एक महिनाअघि २० करोड नाफामा रहेको निगम अहिले २५ करोड घाटामा जानुको मुख्य कारण महँगिएको डलर हो । 'यसै भन्न सकिँदैन तर डलर घटेन भने अर्को महिना घाटा ४० करोड रुपैयाँ पुग्ने देखिन्छ,' उनी थप्छ्् ।
साढे ८ अर्बको वाषिर्क नोक्सानी बेहोरिरहेको अर्को सरकारी संस्थान विद्युत् प्राधिकरणलाई एक महिनामै ५ करोडको व्ययभार थपिइसकेको छ । डलर तिरेर किन्नुपर्ने बिजुलीका कारण यो असर देखिएको हो । 'खिम्ती र भोटेकोसीलाई मासिक औसत ५५ लाख डलर तिर्नुपर्छ,' प्राधिकरणका प्रवक्ता शेरसिंह भाटले भने, 'सामान्यतया महिनाको पहिलो वा दोस्रो साता तिर्ने गरिएकाले यसपटक प्रभाव पर्ने देखिन्छ ।'
डलरको असर स्वदेशी उत्पादनमा मात्र नभई आयातित कच्चा पदार्थ महँगिएकाले स्वदेशी उत्पादनको मूल्य पनि बढाउने छ । 'यसले कच्चा पदार्थको मूल्यसमेत बढाएकाले स्वदेशी उत्पादनको मूल्य पनि बढाउने छ,' उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले भने । डलरसँग भारतीय मुद्रा कमजोर भएकाले यसको प्रभाव नेपालमा परेको हो । भारतसँग स्थिर विनिमय दर भएका कारण भारतीय रुपैयाँ -भारु) सँगै नेपाली मुद्रा पनि कमजोर हँुदै जान्छ । भारतको ऋणपत्र र सेयर बजारमा लगानी गरेका विदेशीहरूले बेचेर डलर फिर्ता लान थालेपछि अभाव बढेर मूल्य आकासिएको हो । योसँगै अमेरिकी अर्थतन्त्र बलियो भएपछि उसको मुद्रा बलियो भयो । यस्तो अवस्थामा हस्तक्षेप गरेर नियन्त्रण गर्न नसकिने राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बताए । 'भारु र नेपाली रुपैयाँबीचको फरक राखेर सजिलो बनाउन सकिँदैन,' उनले भने, 'त्यस्तो अवस्थामा पहिले भारुलाई नेपालीमा साटेर डलर किन्ने प्रवृत्ति देखिन सक्छ जसले नकारात्मक प्रभाव पार्ने छ ।'
भारु एक सय बराबर १ सय ६० नेपाली हुने गरी स्थिर विनिमय दर तोकिएकाले भारतको प्रभाव देखिएको हो । यसरी बाह्य कारणले महँगिएको डलरले सरकारले तिर्नुपर्ने ऋणको साँवाब्याज पनि बढी तिर्नुपरेको छ । 'हुन त साँवाब्याज नियमित तालिकाअनुसार तिर्ने हो तर डलरको मूल्य बढेका बेलामा तिरिने रकम अन्य बेलाभन्दा अवश्यै बढी हुन्छ,' महालेखा नियन्त्रकको कार्यालयका उपसचिव कमानसिंह खत्रीले भने । नेपालले वाषिर्क करिब १७ अर्ब रुपैयाँ विदेशी ऋणको साँवाब्याज तिर्छ ।
निर्यात र वैदेशिक लगानीको अवस्था कमजोर भएकैले डलर बढेर नकारात्मक असर बढी देखिएको हो । तर यसलाई नियन्त्रण गर्ने उपाय पनि नेपालसँग छैन । भारतले कुनै कदम चाले मूल्य घट्न सक्छ । दुई साताअघि मात्र भारतको केन्द्रीय बैंकले आफूसँग रहेको डलर बिक्री गरेर मूल्यलाई केही दिन बढ्न दिएको थिएन । तर यसको असर पनि धेरै समय टिक्न सकेन

0 comments:

Post a Comment

Find Us On Facebook