Home » » कोरियालीसँग नेपाली चेलीको विवाह र महिला हिंसा

कोरियालीसँग नेपाली चेलीको विवाह र महिला हिंसा


फेसबुक खोल्नसाथ स्ट्याटमा नजर पुग्यो ‘कोरियनसंग विवाह गरेर आएकी नेपाली महिलाले आत्माहत्या गरिन्’ । मन चसक्क भयो । कुटपिटको घट्ना त सुनिइरहेकै थियो, मृत्युको खबरले शरीर नै शिथिल बन्यो । कोरियालीसंग विवाह गरेर कोरिया आएका महिलाहरुको समान्य कुटपिटदेखि केही महिनाअघि पक्षघात हुँदै मृत्युकै खबर सुन्नुपर्‍यो । आफूलाई सम्हाल्न नसकी मृत्युवरण गर्न पुगिन् धादिङकी गौरीमाया तामाङ । कोरियालीसँग वैवाहिक बन्धनमा बाधिएर आत्महत्या गर्ने उनी सम्भवत पहिली नेपाली महिला हुन् ।
आत्महत्याको कारण त खुल्न सकेको थिएन । तैपनि पारिवारिक कारण नै भन्ने अनुमान गर्न सकिन्थ्यो । हुन त २५ बसन्त टेकेकी गौरीको पतिको उमेर ५० वर्ष रहेछ । उमेरमा दोब्बर नै अन्तर परेपछि समझदारीमा फरक आउनु स्वाभाविक हो । त्यसमा पनि भाषा र संस्कृतिको फरक त छदैछ । आत्महत्याको ठोस कारण खुल्न नसके पनि यस्तै कारणले एक नेपाली चेलीको ज्यान गएको छ । जसले समग्र नेपालीलाई पीडा दिएको छ ।
कोरियास्थित नेपाली राजदूतवासको सन् २०१२ को तथ्यांकले १ हजार ४६ नेपाली महिलाहरुले कोरियाली पुरुषसँग वैवाहिक सम्बन्ध गाँसेको देखाएको छ । पछिल्लो समय कोरियनसंग विवाह गरेका महिलाहरुले चरम घरेलु हिंसा खेप्नु परेको समाचार पटक-पटक आएता पनि कोरिया भित्रिने यस्ता महिलाको संख्यामा कमी आएको छैन । नेपालका र कोरियाका म्यारिज व्यूरोहरु झन सक्रिय हुँदै गइरहेका छन् ।
नेपालका म्यारिज ब्यूरोले कतिपय चेलीहरुलाई पैसा लिएर अनेक लालचा देखाउदै ढाटेर कोरियालीसँग विवाह गराइदिन्छन् । यसरी आउने महिलाहरु नै बढी पीडित हुने गरेको पाइन्छ । व्यूरोको बहानामा हुने गरेको यस्ता मानव तस्करलाई रोक्न आम नेपालीलगायत उच्चस्तरबाटै पहल हुन आवश्यक छ । उता फरक भाषा र संस्कृति वीचको वैवाहिक सम्बन्धलाई बुझ्न नसक्नु अर्कोको मुख्य कारण हो ।
त्यसो त कोरियनसँग विवाह गरे सजिलै आइडी पाइने र पैसा धेरै कमाउन सकिने सोच पनि महिलाहरुलाई हिंसाको शिकार बनाउने अर्को कारण होे । कतिपय यसरी कोरिया भित्रिने महिलाहरु नेपाली यूवासंग मोजमस्ती गर्ने र कोरियाली आइडी पाएपछि पतिसंग पारपाचुके गर्ने योजना बनाएर बसेका हुन्छन् । यस्ता योजनामा सफल भएका केही महिलाहरुको सिको गर्दै कोरिया भित्रिने महिलाहरु पनि हिंसाका शिकार हुने गरेको पाइन्छ ।
त्यसो त आफन्तहरुले नै धेरै पैसा कमाउन सकिन्छ भन्दै कोरियनसंग विवाह गरी पठाएका गाँउका सोझा युुवतीहरु पनि यस्ता पीडितको सूचिमा पर्छन् । यस्ता युवतीलाई कुलतमा फसेका र अपांग जस्ता पुरुषसंग विवाह गरिदिनाले पनि समस्यामा पर्ने गर्छ । कोही पुरुष भने साँच्चै खराब पनि हुन्छन् । कतिपय कोरियन पुरुषहरुको च्ााडो रिसाउने र हात छोडिहाल्ने बानीलाई बुझन नसक्दा पनि यस्ता घट्नाहरु घट्ने गर्छन् ।
विवाह एक नितान्त निकटतम सम्बन्ध हो । एउटै राष्ट्रियता र उस्तै संस्कृतीवीच भएको विवाहमा त असमझदारी हुन्छ भने झन छुट्टै देश र फरक संस्कृतीवीचको बैवाहिक सम्बन्धमा अझ गहिरिनु पर्छ । यस्ता सम्बन्धलाई स्वर्थपूर्तिको माध्यम बनाउन खोजे यस्तै पीडा र दुख्त अवस्था निम्तिन सक्छ । त्यसैले विवाह जस्तो पवित्र र जीवनको अति नै महत्वपूर्ण सम्बन्ध जोड्नुभन्दा पहिला नै धेरै कुरा बुझ्न आवश्यक छ ।

0 comments:

Post a Comment

Find Us On Facebook