Home » » श्रीमान्-श्रीमतीबीचको ट्युनिङ

श्रीमान्-श्रीमतीबीचको ट्युनिङ


पिवट प्वाइन्टको क्रिएटिभ डाइरेक्टर सामन्था कोचर, जसले नर्थ वेस्टर्न विश्वविद्यालयको सिकागोबाट बडी ल्याङ्ग्वेजका सम्बन्धमा अध्ययन गरेकी छिन्, का अनुसार बडी ल्याङ्ग्वेज एउटा सुन्दर कला हो- जसको ज्ञान हरेक व्यक्तिमा हुनुपर्छ, यसको प्रयोग गरेर उसले आफ्नो सम्बन्धलाई अझ राम्रो
र सुदृढ बनाउन सक्छ। त्यसो त बडी ल्याङ्ग्वेजको प्रयोग हरेक स्थानमा हुन्छ, तर श्रीमान्-श्रीमतीको सम्बन्धमा यसको आफ्नै महत्त्व छ। कारण आपसी प्रेममा एकअर्काको आवश्यकता बुझ्न शब्दहरूभन्दा बढी भावभंगीमा र हाउभाउ प्रभावशाली हुन्छ। प्रेम, माया जस्ता अति संवेदनशील मामिलामा शारीरिक भाषाको जति प्रयोग हुन्छ, त्यति अरू कुनै भाषाको हुँदैन। श्रीमान्-श्रीमतीले आफ्नो सम्बन्धलाई प्रगाढ बनाउन बडी ल्याङ्ग्वेजका केही सूत्रको जानकारी राख्नु राम्रो एवं उपयोगी हुन्छ।
तालमेलको कुरा
यदि श्रीमान्-श्रीमती एउटा रेष्टुराँमा कोल्ड डि्रंक्स पिइरहेका छन् र श्रीमान् अगाडितर्फ झुकेर बसेका छन् भने र ती दुईबीच राम्रो तालमेल छ भने श्रीमती पनि त्यसैगरी बस्छिन्। सामन्थाका अनुसार विवाहको केही वर्षपछि के देखिन्छ भने श्रीमान् अखबार पढिरहेका हुन्छन् र श्रीमती सब्जी काट्दै केही बोलिरहेकी हुन्छिन्. श्रीमान् त्यसको प्रायः प्रतिक्रियामा हुँहुँ मात्र गरिरहेका हुन्छन्, अर्थात् दुवैबीच तालमेलको अभाव देखिन्छ। अतः श्रीमान-श्रीमतीले एकअर्काको बडी ल्याङ्ग्वेजलाई बुझेर त्यस्तै शारीरिक भाव अँगाले तालमेल कायम रहन्छ।
आँखाको भाका
प्रेमसम्बन्ध आँखाबाट प्रारम्भ भएर मनमा पुगी गाडिन्छ। आँखा अभिव्यक्तिको सबैभन्दा उत्तम माध्यम हो। आँखाबाट धेरै कुरा पढ्न बुझन् सकिन्छ। उदाहरणका लागि जब श्रीमान् आफ्नी श्रीमतीसित झूटो बोल्छन् तब उनी आफ्नो मुख अर्कै दिशामा फर्काएर कुरा गर्छन्, कारण उनलाई श्रीमतीसित आँखा जुधाएर कुरा गर्दा आफ्नो झूट समातिने डर हुन्छ। दाम्पत्य जीवनमा प्रेम बढाउनु छ भने आँखाको खेल खेल्नुपर्छ। आँखाबाट आफ्नो पार्टनरको अनुभूतिलाई बुझ्न सकिन्छ। रिसमा आँखा फैलन्छ, ठूल्ठूलो देखिन्छ र मुहार पनि तन्किएको हुन्छ। जब आँखामा प्रेम झल्कन्छ, सम्मोहन देख्न सकिन्छ र मुहारमा पनि चमक देखिन्छ, मुहार कोमल भएको प्रतित हुन्छ। अतः श्रीमान्-श्रीमतीले एकअर्काको आँखा पढ्न जान्नुपर्छ। यसबाट आपसी समझदारी बढ्छ। एकअर्कामा बिनाकारण कराउने प्रवृत्तिमा नियन्त्रण आउँछ। एकजना रिसाएको छ भने अर्को शान्त रहन सिक्छ। यसबाट आपसी सम्बन्धमा आत्मीयता बढ्छ।
सुख स्पर्शको
शब्दहीन भाषामा स्पर्शको सबैभन्दा बढी महत्त्व छ। केही नबोली एकअर्कालाई स्पर्श गर्नु पनि प्रेमको संकेत हो। स्त्री जातिमा कुन नियतबाट स्पर्श गरिँदैछ भन्ने कुरा जान्ने अद्वितीय क्षमता हुन्छ। उनीहरूले कुनै पनि पुरुषलाई एकपटकमै मूल्यांकन गर्न सक्छन्, तिनको दृष्टिकोण बुझ्न सक्छन्। यसैगरी यदि श्रीमती आफ्नो श्रीमान् कुनै कुरामा रिसाएकी छिन् भने श्रीमान्ले उनलाई छुँदा केही नबोलीकनै श्रीमान्को हात हटाउँछिन् अर्थात् श्रीमान्प्रति आफ्नो रिस व्यक्त गर्छिन्, एक-अर्काको हात समात्नु, घुम्न जाँदा हात छुनु, सुमसुम्याउनु, किस गर्नु आदि प्रेम अभिव्यक्त गर्ने उपाय हुन्।
फ्लर्टिङ एक अर्कासित
सुखद वैवाहिक जीवनका लागि एकअर्कासित फ्लर्टिङ गर्नु अत्यन्त आवश्यक छ। यसका लागि उमेरले कुनै अर्थ राख्दैन। फलर्टिङमा आँखाको प्रयोग बढी हुन्छ। महिलाहरूले पुरुषलाई छड्के आँखाले हेरेर घायल बनाउन सक्छन्। श्रीमती आफ्नो कोमल केशलाई सहजतापूर्वक झट्कार्छिन् र कुराकानीका बेला औँलाले केश खेलाउँछिन् भने त्यो श्रीमतीले आफ्नो साथ चाहेकी छिन् भन्ने कुराको संकेत हो। श्रीमती श्रीमान्द्वारा गरिएको प्रशंसामा मुस्काइरहेकी छिन्, उनको मुहार गुलाफी पनि देखिन्छ, बारम्बार आफूतिर ध्यान आकृष्ट गर्दैछिन् भने श्रीमती फ्लर्ट गर्ने मुडमा छिन् भन्ने बुझिन्छ। यसैगरी श्रीमान् जब आफ्नी श्रीमतीलाई माथिदेखि तल खुट्टासम्म नियाल्छन्, आफ्नो छाती फुलाएर बस्छन्, गर्दन कन्याएर बस्छन्, बारम्बार आफूलाई स्पर्श गर्छन्, प्रेमपूर्ण नजरले आफ्नी श्रीमतीलाई हेर्छन् भने त्यसलाई श्रीमान्को फ्लर्ट गर्ने मुडको संकेत मान्नुपर्छ।
इच्छाको पहिचान
एकअर्काको यौन चाहनालाई शब्दमा अभिव्यक्त नगरी बुझ्नु पनि सफल वैवाहिक जीवनको आधारशीला हो। सामन्था कोचरका अनुसार श्रीमान्को शारीरिक भाषाले केही व्यक्त गर्दैछ र श्रीमतीको शारीरिक भाषाले अरू नै केही व्यक्त गरिरहेको छ भने दुईबीच प्रेमको सम्भावना छैन भन्ने बुझिन्छ। अध्ययनअनुसार वैवाहिक जीवन असफल हुने ९० प्रतिशत कारण श्रीमान्-श्रीमतीको शारीरिक केमिस्ट्री नमिल्नु हो। श्रीमतीले आफ्नो यौन चाहनालाई आफ्नो बडी ल्याङ्ग्वेजद्वारा व्यक्त गर्छिन्, जस्तै आफूलाई सजाउनु, परफ्युम लगाउनु, बारम्बार साडी ठीक गर्नु, भावबाट प्रेम दर्साउनु, घरमा मध्यम संगीत बजाउनु, गीत गुनगुनाउनु आदि, अर्थात् श्रीमतीको बडी ल्याङ्ग्वेजले शारीरिक सम्बन्धको चाहना व्यक्त गर्छ। यसैगरी श्रीमान्ले पनि आफ्नो शारीरिक हाउभाउबाट यौन इच्छा व्यक्त गर्छन्। जस्तै अचानक श्रीमतीलाई घरेलु कार्यमा मद्दत गर्नु, अफिसबाट घर र्फकंदा श्रीमतीलाई चलकेट वा अन्य उपहार ल्याइदिनु, बारम्बार स्पर्श गर्नु आदिले उनको यौन चाहनालाई व्यक्त गर्छ। यसैगरी कुनै न कुनै बहानामा श्रीमान्लाई छुनु, श्रीमान्लाई जिस्काइरहनु, केही कुरामा अनावश्यक चुनौती दिनु, अल्छीपनको बहाना बनाउनु आदि श्रीमतीको यौनइच्छाको संकेत हुनसक्छ।
व्यक्तिको ५५ प्रतिशत भावना बडी ल्याङ्ग्वेजद्वारा सम्प्रेषित हुन्छ। अतः बडी ल्याङ्ग्वेजको कला बुझेर त्यसअनुकूल ट्युनिङ बसाए श्रीमान्-श्रीमतीको सम्बन्धलाई अझ सुदृढ एवं सुमधुर बनाउन सकिन्छ।

0 comments:

Post a Comment

Find Us On Facebook