|
हिजो आज नायक राजेश हमाल र विवाह पर्यायवाची बनेका छन् । जहाँ जहाँ राजेश हमालको नाम उल्लेख हुन्छ । त्यहाँ उनको विवाह र प्रेम सम्बन्धको चर्चा हुन्छ । केही दिनअघि राजेश हमाल उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम हाम्रो नेपाल राम्रो नेपालमा अतिथी बनेर आउने भएपछि हामीले फेसबुक र ट्वीटरमार्फत पाठक तथा श्रोतासँगबाट राजेश हमालका लागि प्रश्न लिएका थियौं । जसमा धेरै सहभागीले उहाँको विवाह र प्रेम सम्बन्धी जिज्ञासा राखेको पाइयो । आफ्नो विवाह र प्रेम सम्बन्ध बारे के भन्छन् त हमाल ? उज्यालो सहकर्मी मदन खनालले गरेको कुराकानीको सार संक्षेप ।
अब त विहे गर्न तयार हुनुभयो है ?
हो अब म विहेका लागि तयार भएँ । विगतका वर्षहरुमा यो वर्ष गर्छु, अर्को वर्ष गर्छु भन्ने गरेको थिएँ । अब त वर्षबाट महिनामा झरिसकें । अहिलेसम्म कुन महिना वा दिनमा विहे गर्ने केही पनि तय भएको छैन । त्यो नहुनुको कारण के हुँदो रहेछ भने पहिला वर्ष तय गर्न दुई जनाको सहमति हुनुपर्दो रहेछ । जब जब नजिक आयो कुन चाहिँ महिनामा गर्ने भन्ने कुरा निधो गर्न परिवारका सदस्यसँग पनि सल्लाह गर्नुपर्दोरहेछ । परिवारका विभिन्न सदस्यहरु देश विदेशमा हुनुहुन्छ । विदेशमा भएका परिवारका सदस्यहरुको अनुकुलतालाई मध्यनजर गर्दै महिना तोक्न अलि गारो भएको हो ।
सधैं दशैंमा तपाईं विदेश जानुहुन्थ्यो, यसपाली त विदेशबाट तपाईंलाई भेट्न आउनुहुन्छ होला होइन ?
यसपाली उहाँहरु आउनुहुन्छ र यो वर्षभित्रै हामीले विवाह गर्छौं ।
तपाईंको प्रेमिकाको नाम मधु भट्टराई नै हो ?
हो, उहाँको नाम मधु भट्टराई नै हो । मिडियामा आएका फोटोहरु पनि उहाँकै हो ।
फिल्म क्षेत्रका मानिसहरुको सम्बन्ध नबन्दै हल्ला चल्छ तर तपाईंको त लामो समयसम्म गोप्य नै रह्यो नी होइन ?
खाने कुरा नपाक्दै भाँडोबाट निकाल्ने कुरा त भएन । खान तयार भएपछि मात्रै त भाँडोबाट निकाल्ने हो । त्यसैले यो सम्बन्ध पनि परिपक्व बन्नुपर्यो । समयले नै सम्बन्ध बलियो बनाउने हो । एक आपसमा बुझ्नपनि समय लाग्छ । दुवै जना एक अर्काकै लागि बनेका हौं त भन्ने कुरा बुझ्न पनि समय त लाग्छ नै ।
विवाहसम्म पुगिन्छ भन्ने विश्वास सुरुमै थिएन त्यसो भए ?
सुरुमा थिएन नै । सुरुमा अलि टाढाकै सम्बन्ध हुन्छ । जीवनमा विभिन्न खुड्किलाहरु आउँछन् । तिनीहरुले नै प्रगाढ बनाउने हो ।
तपाईंहरुका बारेमा विभिन्न समाचारहरु आइरहन्छ, तपाईंलाई पहिलो भेट याद छ ?
पहिलो पटक मैले उहाँलाई सार्वजनिक समारोहमा नै भेटेको हुँ । भनिन्छ आफूले विहे गर्ने मानिस स्वर्गमा नै तय हुन्छ । फेरी मेरो बानी पनि होइन कि सार्वजनिक कार्यक्रममा कसैको नजिक भइहाल्ने । तर म त्यो बेला अलि असाधारण तरिकाबाटै परिचालित भएँ । तर मलाई त्यतिबेलै के कुराले आकर्षित गर्यो त्यो भने मलाई नै थाहा भएन ।
तपाईं त्यो कार्यक्रममा जज हुनुहुन्थ्यो र तपाईंको प्रश्नको जवाफ पनि उहाँले दिनुभएन नी होइन ?
हो, उहाँले त्यस दिन मेरो प्रश्नको जवाफ राम्ररी दिनुभएन । त्यो हिसाबले मैले उहाँलाई कम अंक दिएको थिएँ । त्यति हुँदा हुँदै पनि म कसरी आकर्षित भएँ उहाँप्रति मलाई नै थाहा छैन ।
उहाँको आगमनपछि तपाईंको जीवनमा केही परिवर्तन भए ?
उहाँले मलाई एउटा साथीको रुपमा साथ दिनुभएको छ । त्यहि नै मलाई सबैभन्दा चित्तबुझ्दो लागेको छ । उहाँको जुन चरित्र र स्वभाव छ त्यो पनि मलाई चित्तबुझ्दो लागेको छ ।
सामान्यतया हेर्दा विवाह अलि ढिला नै भयो नी होइन ?
मेरो व्यवस्तताले पनि विवाह केही ढिला भएको हुनसक्छ । अर्को कुरा मेरो व्यक्तिगत स्वभावले पनि केही ढिलाइ भएको हुनसक्छ । मेरो मनमा विवाह आवश्यक छ र भन्ने सोचाइ धेरै पटक आयो । मेरै उमेरका साथीहरुका छोराछोरीहरु ठुला भइसकेका छन् । तर मलाई अहिले पनि ओहो मैले किन विवाह गरिनँ भन्ने सोचाइ आउँदैन ।
लामो समय घर बाहिर बसेर घर पुग्दा कहिले कहीँ हमाल निवास शुन्य जस्तो लाग्दैन ?
हरेक मान्छेको जीवनमा एक्लो पन नहुने भन्ने हुँदैन । कुनै न कुनै पल जीवनमा एक्लोपनको अवस्था जहिले पनि हुन्छ । कतिपय अवस्थामा मेरो व्यक्तिगत स्वभावले पनि त्यसलाई प्रभावित बनाएको हुन्छ ।
तपाईं त एकान्त मन पराउने मान्छे, विवाह पनि एकान्तमै गर्ने हो ?
त्यस्तो सोच त अहिलेसम्म बनेको छैन । फिल्ममा त तामझामसँग नाटकीय विवाह धेरै पटक गरियो । तर पनि साथी भाइसँग मैले विवाह अलि असाधारण तरिकाबाट गरुँ कि भन्ने सोच मात्रै राखेको हुँ । त्यो कुरा मबाट नआएपनि मलाई नयाँ आइडिया भने दिएको छ ।
|
0 comments:
Post a Comment